३१ असार २०८३, बुधबार

इटहरी सात महिनादेखि दमकलविहीन, नयाँ किन्न अझै समय लाग्ने

चैत १२, २०८२
विराटनगर
इटहरी सात महिनादेखि दमकलविहीन, नयाँ किन्न अझै समय लाग्ने

पूर्वको उदाउँदो शहर इटहरी यतिबेला एउटा गम्भीर र डरलाग्दो अभावसँग जुधिरहेको छ । फागुन शुरू भएसँगै सुक्खा मौसम र तीव्र गतिको हावा चल्ने क्रम बढेको छ, जसलाई ‘आगलागीको सिजन’ मानिन्छ । तर, यही संवेदनशील समयमा इटहरी उपमहानगरपालिकासँग भने आगो निभाउने एउटा पनि दमकल छैन । शहर ठुलो छ, तर आपत्कालीन अवस्थामा आफ्नो शहर आफैँ जोगाउने सामर्थ्य भने अहिले इटहरीसँग छैन ।

यो संकटको बिउ गत भदौ २४ गते रोपिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा आक्रोशित समूहले इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमै पार्किङ गरी राखिएका दमकलहरूमा आगो लगाइदिएका थिए । सोही दिनदेखि इटहरी दमकलविहीन भएको हो ।

आन्दोलनकारीले दमकल मात्र होइन, विकास निर्माणमा प्रयोग हुने जेसीबी, लोडर, टिपर, रोलर, ग्रेडर र अन्य साना–ठूला सवारीसाधनका साथै महत्त्वपूर्ण कागजातहरू समेत जलाएर खरानी बनाएका थिए । त्यसयता इटहरीमा आगलागी हुँदा छिमेकी पालिकाहरूको भर पर्नु परेको छ ।

यसको एउटा ताजा र तितो उदाहरण बुधबार बिहान इटहरीको व्यस्त बजारमा देखियो । मुख्य चोक नजिकै रहेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा एक्कासि आगो लाग्यो । शहरको मुटुमै आगो लाग्दा पनि इटहरी उपमहानगरको आफ्नै दमकल साइरन बजाउँदै घटनास्थल पुग्न सकेन । आगो निभाउन प्रहरीले सुनसरीका धरान, दुहबी, रामधुनी, इनरुवा मात्र होइन, छिमेकी जिल्ला मोरङका विराटनगर, सुन्दरहरैँचा, बेलबारी र लेटाङसम्मका दमकललाई गुहार्नुपर्‍यो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार बाहिरबाट दमकल मगाउँदा आइपुग्न समय लाग्ने र त्यसले गर्दा क्षति धेरै हुने गरेको छ । ‘इटहरी पूर्वको एउटा प्रमुख व्यापारिक केन्द्र हो, यहाँ दमकल नहुँदा निकै कठिनाइ भएको छ,’ डीएसपी हमालले भने, ‘सुन्दरहरैँचा नजिकै भए पनि पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले बाटोको कारणले दमकल समयमै आइपुग्न सक्दैनन् । टाढाका पालिकाबाट दमकल आउँदासम्म धेरै कुरा जलिसकेको हुन्छ ।’

भदौको त्यो अप्रिय घटनापछि इटहरीभित्र मात्रै चारवटा ठूला आगलागीका घटना भइसकेका छन् र ती सबैमा छिमेकीकै भर पर्नुपरेको प्रहरीको तथ्याङ्क छ ।

यो समस्या अझै केही महिना लम्किने निश्चित छ । इटहरीका मेयर हेमकर्ण पौडेलले नयाँ दमकल खरिद प्रक्रिया शुरू भए पनि त्यो शहर आइपुग्न समय लाग्ने बताए । मेयर पौडेलका अनुसार दमकल खरिदका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको छ, तर दमकल उत्पादक कम्पनीले अर्डर प्राप्त भएपछि मात्र निर्माण गर्ने भएकाले तुरुन्तै पाउन असम्भव देखिएको हो । ‘दमकलको टेन्डर त लाग्यो, तर कम्पनीले बनाउन समय लिने रहेछ । अबको झन्डै तीन महिना पछाडि मात्र इटहरीले नयाँ दमकल पाउने देखिन्छ,’ मेयर पौडेलले भने ।

मेयर पौडेलका अनुसार आन्दोलनका क्रममा नगरपालिकाका दुईवटा चल्तीका दमकल र एउटा मर्मत गर्नुपर्ने गरी तीनवटै दमकल काम नलाग्ने भएका थिए । दमकल खरिद प्रक्रिया झन्झटिलो हुँदा सात–आठ महिनाको समय लाग्ने उनको अनुभव छ । ‘अत्यावश्यक चिज नै जलाइदिएपछि त्यसको सास्ती अन्ततः जनताले नै बेहोर्नुपर्ने रहेछ,’ उनले दुखेसो पोखे ।

उपमहानगरले यो बीचमा दुईवटा ट्रयाक्टर, एउटा टिपर र दुईवटा साना गाडी खरिद गरे पनि दमकलको अभाव भने टर्न सकेको छैन । धुलो नियन्त्रणका लागि एउटा पानी ट्याङ्की बनाउने काम भइरहे पनि त्यो दमकलको विकल्प भने हुन सक्दैन ।

इटहरी मात्र होइन, छिमेकी दमक नगरपालिकाको अवस्था पनि उस्तै छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार त्यहाँ पनि आन्दोलनका क्रममा एउटा नयाँ दमकल जलेर खरानी भएको थियो । अहिले दमकले दुईवटा पुराना दमकललाई मर्मत गरेर जेनतेन सेवा दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्