
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने तयारी गर्न गृहमन्त्री सुधन गुरुङ रातभरि नै प्रहरी हेडक्वाटरमा बसेको पाइएको छ ।
गुरुङसँगै गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी ईश्वर कार्की र कार्य विभागका एआईजी उमा चतुर्वेदीले रातभर बसेर फिल्डमा खटिएका प्रहरीलाई निर्देशन दिएका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार गृहमन्त्री गुरुङले जसरी पनि ओली र लेखकलाई पक्राउ गर्नुपर्ने निर्देशन प्रहरी उच्च अधिकारहरूलाई दिएका थिए ।
शुरूमा भक्तपुरको कटुन्जेमा बस्दै आएका पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने र त्यसपछि ओली निवास गुण्डुमा प्रहरीको बाक्लो उपस्थिति गराई उपयुक्त मौकामा ओलीलाई नियन्त्रणमा लिएर आउने निर्देशन गुरुङले दिएका थिए ।
ओली र लेखकलाई पक्राउ गर्न प्रहरी र सशस्त्र प्रहरीको फरक-फरक टोली परिचालन भएका थिए । अप्रेशनको लीड काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको थियो । अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का आफैँ ओली निवास गुण्डुमा टोली लिएर पुगेका थिए । जरुरी पक्राउ पूर्जी दिएर ओलीलाई पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले शनिबार ओलीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

उच्च स्रोतका अनुसार प्रहरी हेडक्वाटरमा बैठक चल्दै गर्दा प्रहरी महानिरीक्षकले लिखित आदेश मागेका थिए । तर, गृहमन्त्री गुरुङले ‘प्रधानमन्त्री बालेन शाहको आदेश छ, म आफैँ तपाईँलाई निर्देशन दिइरहेको छु, योभन्दा ठूलो आदेश के चाहियो’ भन्दै कड्किएका थिए ।
लगत्तै उपत्यकाका एआईजी ईश्वर कार्कीले अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कालाई हेडक्वाटर बोलाएका थिए । बलियो टोली बनाएर लेखक र ओलीको निवासमा खटिन कार्कीले निर्देशन दिए ।
बिहान चारै बजे अनुन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली संयुक्त रूपमा परिचालित भए । एसएसपी खड्काको टोली ओली निवास पुग्दा ओली सुतिरहेका थिए । प्रहरीले भित्र पुगेर पक्राउ पूर्जी देखाएको थियो । अनि ओली उठे । प्रहरीले ‘जाउँ हजुर’ भन्दै पक्राउ पूर्जी देखाएपछि ओली जान तयार भएको स्रोत बताउँछ ।

ओली र लेख दुवैलाई शनिबार बिहान पक्राउ गरिएको थियो । जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोपमा पक्राउ परेका दुवैलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको छ । उनीहरूलाई परिसरकै हिरासतमा राखिने एक प्रहरी अधिकारीले बताए । आज सार्वजनिक बिदा भएकाले उनीहरूलाई प्रहरीले आइतबार मात्रै अदालतमा उपस्थित गराउने छ ।
यता, गृहमन्त्री सुधन गुरुङले भने ओली र लेखकलाई पक्राउ गर्नु प्रतिशोध नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङले प्रतिशोधभन्दा पनि न्यायको शुरूआत भएको बताएका हुन् । 'कानूनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको शुरूआत हो,' गुरुङले लेखेका छन् ।