२७ जेठ २०८३, बुधबार

महिला टी–२० क्रिकेटः भारतको सिलिगुडीले उपाधि जित्यो

चैत १४, २०८२
काठमाडौं
महिला टी–२० क्रिकेटः भारतको सिलिगुडीले उपाधि जित्यो

झापाको भद्रपुरमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ। आज भएको फाइनल खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लब सिक्किमलाई दुई रनले पराजित गर्दै सिलिगुडीले उपाधि जितेको हो।

वर्षाका कारण १० ओभरमा सीमित गरिएको खेलमा टस हारेपछि पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको सिलिगुडीले निर्धारित ओभरमा ७४ रन बनाएको थियो। सिक्किमले निर्धारित १० ओभरमा ७२ रन मात्र बनाउन सक्यो।

नेपाल–भारत मैत्री सङ्घ कोशी प्रदेशको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद रु ८० हजार पुरस्कारसहित शिल्ड प्राप्त गरेको छ भने सिक्किमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा सहभागी तेस्रो टिम नेपालको मिलन क्रिकेट क्लब झापाले रु १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ। फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार विजेता टिमकी तनुजा सरकारले प्राप्त गरिन्। प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विजेता टिमका ह्याप्पी सरकार र सर्वोत्कृष्ट बलर विजेता टिमका हितन राय घोषित भए। म्यान अफ द सिरिजको पुरस्कार भने उपविजेता टिमकी मरिन सुब्बाले प्राप्त गरिन्।

आयोजक नेपाल–भारत मैत्री सङ्घ कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दनले नेपाल–भारतबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको स्मरण गराउँदै खेलकुदमार्फत त्यो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्