१० साउन २०८३, आइतबार
देउवा निवास भत्काउन रोक

बूढानीलकण्ठस्थित देउवा निवास : ‘पावर सेन्टर’देखि अनुसन्धानमा रहेको खण्डहरसम्म

चैत १५, २०८२
काठमाडौं

सरकारले बुढानीलकण्ठस्थित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास भत्काउने कार्यमा सरकारले रोक लगाएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्नुपर्ने भएकाले प्रमाण मेटिन सक्ने सम्भावनाका कारण घर भत्काउन रोक लगाइएको हो ।

कुनै समय नेपाली राजनीतिको ‘पावर सेन्टर’ मानिने बूढानीलकण्ठस्थित देउवा निवास आज इतिहासको मौन साक्षी बनेको छ ।

सत्ता सञ्चालनका रणनीति बनाइने, नेताहरूको बाक्लो उपस्थिति रहने यो घर अहिले खण्डहरमा परिणत भएको छ ।

यो निवास केवल एउटा घर मात्र थिएन, नेपाली कांग्रेसभित्रका आन्तरिक रणनीति, सत्ता समीकरण र देशको भविष्यसँग जोडिएका महत्वपूर्ण निर्णयहरू यहीँबाट तय हुने गर्थे । त्यसैले यो स्थानलाई देउवाको ‘पावर सेन्टर’का रूपमा चिनिन्थ्यो ।

तर, समयसँगै यसको पहिचान पूर्णरूपमा फेरिएको छ । ‘जेनजी आन्दोलन’को दोस्रो दिन, भदौ २४ गते, प्रदर्शनकारीको निशानामा परेको यो घरमा तोडफोड, आगजनी र लुटपाट भएको दाबी गरिएको छ ।

उक्त घटनामा देउवा दम्पतीमाथि समेत दुर्व्यवहार भएको विवरण सार्वजनिक भएका थिए । त्यतिबेलासम्म आरजु राणा देउवा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा थिइन्।

घटनापछि सुरक्षा निकायमाथि गम्भीर प्रश्न उठेका थिए । आन्दोलनका क्रममा नेताहरूका घर लक्षित गर्दै तोडफोड र आगजनी गरिए पनि देउवा निवासमा भएको क्षतिले विशेष ध्यान तानेको थियो ।

हाल ९६६ वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त जग्गामा रहेको संरचना हटाउने काम शुरू गरिएको थियो । करिब ३७ लाख रुपैयाँको ठेक्कामा भत्काउने जिम्मा ठेकेदार विनोद महर्जनले पाएका थिए ।

तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको कारण देखाउँदै सरकारले हालका लागि भत्काउने काममा रोक लगाएको छ ।

गत साता स्थलगत अवलोकन गर्दा घरका भित्तादेखि पर्खालसम्म आगजनीका निशान देखिन्थे । कामदारहरू टायल उप्काउने, फलाम काट्ने र भग्नावशेष हटाउने काममा व्यस्त देखिन्थे भने खण्डहर भवन परिसरभरी सामान असरल्ल अवस्थामा थुपारिएको थियो ।

अब यो जग्गामा पुन: निवास निर्माण गरिने, भाडामा दिइने वा बेचिने भन्नेबारे स्थानीयवासीमा चासो छ ।

कुनै समय सत्ता सञ्चालनको केन्द्र बनेको यो घर आज नेपाली राजनीतिक इतिहासको एउटा अध्याय समाप्त भएको संकेतका रूपमा उभिएको छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्