
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पुरानो केन्द्रीय समितिको बैठकका लागि नेताहरू पुग्ने क्रम शुरू भएको छ ।
धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका लागि नेताहरू बैठकस्थलमा पुग्ने क्रम शुरू भएको हो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बैठक स्थलमा पुगिसकेका छन् ।
उनका अलावा नेताहरू विमलेन्द्र निधि, एनपी साउद, श्याम घिमिरे, मोहन बस्नेतलगायत पनि बैठक स्थलमा पुगिसकेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले आजका लागि विघटित केन्द्रीय समितिको बैठक बोलाएका थिए ।
पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । २७ देखि ३० पुसमा विशेष महाधिवेशन गरेर गगन थापा नेतृत्वको कार्यसमिति हाल अस्तित्वमा छ ।
तर‚ अनाहकमा आफूहरूलाई पार्टीबाट निकाल्ने स्थिति बनेको र शक्तिविहीन बनाएको भन्दै असन्तुष्ट बनेको शेरबहादुर देउवा समूहले सभापति थापा र वर्तमान केन्द्रीय नेतृत्वलाई कांग्रेसको नेतृत्व मानेकै छैन ।
निर्वाचनको समयमा मत्थर बनाएर तत्कालका लागि विवाद थाती राखिएको थियो । तर‚ निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपश्चात् असन्तुष्ट समूहले थापा नेतृत्वको समूहलाई कुनै पनि हालतमा नस्वीकार्ने भनेको छ ।



