२२ जेठ २०८३, शुक्रबार
प्रहरीको अवस्था सुध्रिने अपेक्षा

नयाँ गृहमन्त्रीको वाचाले प्रहरीमा आशाको सञ्चार– मिल्ला साधन ? बस्ला सिस्टम ?

चैत १७, २०८२
काठमाडौं

गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालय पुगेर दिएको भाषण अहिले धेरैको चासोको विषय बनेको छ ।

विगतदेखि नै प्रधानमन्त्रीको हातबाट प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह लगाइदिनुपर्ने प्रहरी संगठनको आवाजलाई गृहमन्त्री गुरुङले जसरी पनि लागू गराएरै छाड्ने बताएका छन् ।

उनले भने, ‘विगतमा सचिवज्यूको हातबाट आईजीपीलाई दर्ज्यानी चिह्न लगाइन्थ्यो, अब प्रधानमन्त्रीको हातबाट लगाइन्छ, म आफैं त्यसका लागि प्रधानमन्त्रीलाई कन्भिन्स गर्छु ।’

पोर्टफोलियोमा प्रहरी महानिरीक्षक र सचिव विशिष्ट श्रेणीमै पर्छन् । गृहमन्त्री गुरुङले प्रहरीको अर्को मन छुने विषय उल्लेख गरे । प्रहरीलाई आवश्यक पर्ने चुस्ता र पोशाक अब नेपालभित्रै बनाउने । त्यसका लागि नेपालकै गाउँमा फ्याक्ट्री स्थापना गर्ने वाचा गुरुङले गरेका थिए ।

गृहमन्त्री गुरुङले प्रहरीको रासन वृद्धिसँगै प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधन सम्पन्न गराउन आफू लागि पर्ने बताएका थिए । प्रहरी फिल्डमा जाँदा सिल्ड समेत नभएकोतर्फ विचार गर्दै गुरुङले भने, ‘अब फिल्डमा जाँदा प्रत्येक प्रहरीसँग सिल्ड र आवश्यक स्रोतसाधन हुन्छ, ड्रोनमार्फत पनि अश्रुग्यास हान्न मिल्छ, अब नयाँ टेक्नोलोजीमा जानुपर्छ ।’

प्रहरीका पोशाकतर्फ इंगित गर्दै गुरुङले भने, ‘विदेशमा प्रहरीको पोशाक देख्दै तुरुन्त अपराधी पक्राउ गर्लान् जस्तो हुन्छ, हाम्रो प्रहरीको बुट च्यातिएको, पोशाक उध्रिएको, दंगा नियन्त्रणका लागि आवश्यक उपकरणसम्म नपुगेको अवस्था छ, प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन म लागिपर्छु ।'

सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीका समस्या मात्रै सुनेनन्।  केही ठूला घोषणा पनि गरे । उनले चारवटा मुख्य विषयलाई प्राथमिकता दिए ।

पहिलो– अब प्रहरी महानिरीक्षकले प्रधानमन्त्रीको हातबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गरिने ।

दोस्रो– प्रहरीको पोशाक नेपालमै उत्पादन गरिने । विदेशी कपडामा भर पर्नु पर्दैन, देशभित्रै कारखाना खोलेर प्रहरीका पोशाक बनाइने ।

तेस्रो– प्रहरीको रासन स्केल बढाइने ।

र चौथो– प्रहरीलाई ‘मोडर्न पुलिसिङ’ अनुसार स्रोतसाधन सम्पन्न बनाइने ।

सुन्नमा यी सबै कुरा निकै मीठा र आकर्षक लाग्छन् । तर अहिलेको प्रश्न के हो भने– यो घोषणा हो कि वास्तविक योजना ?

गृहमन्त्री गुरुङले प्रहरीले आन्दोलन र दंगा नियन्त्रण गर्दा भोग्ने समस्यालाई पनि खुलेर उठाए ।

उनले भने– 'खाली हातले प्रहरीलाई आन्दोलन रोक्न पठाएर हुँदैन । दुईवटा हातले मात्रै भीड नियन्त्रण गर्न सकिँदैन । अब प्रत्येक प्रहरीका हातमा सिल्ड हुनुपर्छ ।'

यो भनाइले प्रहरी संगठनभित्र निकै ठूलो आशा जगाएको छ । किनकि वर्षौंदेखि फिल्डमा खटिने प्रहरीको गुनासो यही थियो– 'हामीलाई काम त धेरै लगाइन्छ, तर काम गर्ने साधन दिइँदैन ।'

गृहमन्त्रीले विदेशका प्रहरीसँग नेपालको तुलना पनि गरे । उनले भने– 'विदेशमा प्रहरीको पोशाक हेर्दा नै डर लाग्छ, अपराधी अहिले नै पक्राउ पर्छ कि भन्ने हुन्छ । तर, हाम्रोमा उध्रिएको लुगा, खुइलिएको चुस्ता र च्यातिएको बुट छ ।'

यो अभिव्यक्तिले एउटा कटु यथार्थ उजागर गरेको छ । 

गृहमन्त्रीले सरुवा र बढुवामा हुने राजनीतिक चलखेलमाथि पनि खुला रूपमा बोले । प्रहरी अधिकृतहरूलाई उनले सिधै चेतावनी दिए ।

उनले भने– 'समस्या लिएर आउनू, समाधान खोज्छु । तर, सर मलाई बढुवा गरिदिनुस् भनेर नआउनू । नाकामा सरुवा माग्न आउनेलाई अन्तै पठाइदिन्छु ।'

यहीबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको भावुक दृश्यले धेरैको मन छोयो ।

प्रहरी सेवाको उत्तरार्धमा रहेका कार्कीले प्रहरीको अवस्था सुनाउँदै भने– 'प्रहरीको पोशाक कम्तीमा धान गोदामको पालेले लगाउनेभन्दा अलि राम्रो होस् ।'

यो वाक्यले प्रहरी संगठनको वास्तविक पीडा बाहिर ल्यायो ।

आईजीपी भनेको प्रहरी संगठनको सर्वोच्च पद हो । कार्कीले आफ्ना जवानको पोशाकको अवस्था यस्तो छ भनेर खुलेर भन्नुपरेको अवस्था सरकारका सामु पनि आफैंमा लाजमर्दो हो ।

कार्की यसरी बोल्दै गर्दा हलमा केहीबेर सन्नाटा छायो । अनि गृहमन्त्री गुरुङ अचानक उठे, अरूलाई पनि उठ्न लगाए र ताली बजाए ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्