
इराकको राजधानी बगदादबाट अमेरिकी पत्रकार शेली किटल्सन अपहरणमा परेकी छन् । मंगलबार उनको अपहरण भएको विभिन्न स्रोत र उनी कार्यरत सञ्चार संस्थाले पुष्टि गरेका सीएनएनले जनाएको छ ।
अमेरिकी सरकार उक्त घटनाबारे निगरानी गरिरहेको र उनको सुरक्षित रिहाइका लागि इराकी पक्षसँग समन्वय गरिरहेको एक अमेरिकी अधिकारीले बताएका छन् ।
अपहरण कसले गरेको भन्ने स्पष्ट नभए पनि स्रोतहरूका अनुसार किटल्सनलाई इरान समर्थित सशस्त्र समूह कताइब हिज्बुल्लाहबाट अपहरणको खतरा रहेको चेतावनी दिइएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका सहायक सचिव डिलन जोनसनले सामाजिक सञ्जाल एक्समार्फत् अपहरणमा संलग्न रहेको आशंकामा कताइब हिज्बुल्लाहसँग सम्बन्धित एक व्यक्तिलाई इराकी अधिकारीहरूले नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
कताइब हिज्बुल्लाह इरान समर्थित सशस्त्र समूह हो, जसले पटक–पटक अमेरिकी नागरिकहरूलाई लक्षित गर्दै आएको छ । किटल्सन मध्यपूर्व र अफगानिस्तानका विषयमा रिपोर्टिङ गर्ने पत्रकार हुन्, जसका सामग्री अन्तर्राष्ट्रिय, अमेरिकी तथा इटालियन सञ्चारमाध्यमहरूमा प्रकाशित भएका छन् ।
एक स्रोतका अनुसार अमेरिकी सरकारले केही समयअघि किटल्सनलाई उक्त समूहले अपहरण वा हत्या गर्न सक्ने योजना बनाएको भन्दै सचेत गराएको थियो । त्यतिबेला उनी इराकमै रिपोर्टिङ गरिरहेकी थिइन् ।
अर्को स्रोतका अनुसार अमेरिकी र इराकी अधिकारीहरूले पछिल्ला हप्ताहरूमा किटल्सनमाथि अपहरण वा हत्या हुन सक्ने खतरा पहिचान गर्दै उनलाई पटक–पटक देश छोड्न आग्रह गरेका थिए ।
जोनसनले अमेरिकी सरकारले सम्भावित जोखिमबारे सचेत गराउने आफ्नो दायित्व पूरा गरेको र एफबीआईसँग समन्वय गर्दै उनको छिटो रिहाइ सुनिश्चित गर्न काम गरिरहेको बताएका छन् ।
अमेरिकास्थित समाचार संस्था अल–मोनिटरले पनि किटल्सनको अपहरण पुष्टि गर्दै उनको ‘सुरक्षित र तत्काल रिहाइ’को माग गरेको छ । उक्त संस्थाले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनको शीघ्र सुरक्षित फिर्तीको आग्रह गरेको छ ।
इराकको गृह मन्त्रालयले मंगलबार साँझ बगदादको केन्द्र भागबाट एक विदेशी महिला पत्रकारलाई अज्ञात व्यक्तिहरूले अपहरण गरेको जनाएको थियो ।
इराकी सुरक्षा बलले एक संदिग्धलाई नियन्त्रणमा लिएको र अपहरणमा प्रयोग भएको एक सवारी साधन बरामद गरेको जनाएको छ । साथै, अपहरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा उद्धारका लागि विशेष अभियान सञ्चालन गरिएको छ ।