२१ असार २०८३, आइतबार
वर्षौंदेखि थन्किएका साधन बल्ल सञ्चालन

प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनपछि चल्न थाले लुम्बिनीका बिजुली बस

चैत १८, २०८२
बुटवल
प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनपछि चल्न थाले लुम्बिनीका बिजुली बस
फाइल तस्वीर

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका विद्युतीय गाडी प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका छन् । लुम्बिनीमा गाडी चल्न नसकेर अलपत्र परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजाने निर्णय गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले लुम्बिनीमा तुरुन्त बस सञ्चालन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घाममा थन्किएर थोत्रिने अवस्थामा पुगेका बस बुधबारदेखि सञ्चालनमा आएको रास्वपा सांसद ज्ञानु पौडयालले जानकारी दिइन् ।

null

लुम्बिनीलाई प्रदुषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर विद्युतीय सवारी (बिजुली गाडी) ल्याइएका थिए । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र ‘भ्यान’ पाँच वर्षसम्म प्रयोगविहीन भएर खुला आकाशमुनि थन्किए ।

पटक–पटक गाडी चलाउने योजना अघि सारिए । तर, सवारी चल्न सकेनन् । कहिले सेतो नम्बर प्लेटलाई हरियोमा बदल्न समस्या भयो भनियो त, कहिले हरियोले भाडाको यात्रु बोक्दा आइपर्ने समस्या के गर्ने निम्तिए, त्यसको कानूनी निरुपण कसरी गर्ने अल्झन उठाइयो । यस्तैगरी पाँच वर्ष बिते ।

null

लुम्बिनीमा गाडी चल्न नसकेर अलपत्र परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं लैजाने निर्णय गर्‍यो । लुम्बिनी आएका गाडी चल्न नसकेर काठमाडौं लैजाने तयारीको जानकारी नयाँ सरकार बनेलगतै प्रधानमन्त्री कार्यालयमा पुग्यो ।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा उनको सचिवालयले 'गाडी काठमाडौं ल्याउने होइन, लुम्बिनीमै चलाउनू' भनेर कोषलाई निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीको तर्फबाट आवश्यक कानूनी अल्झनलाई समाधान गर्दै जाने बताएपछि विकास कोषले बस सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले काठमाडौं लैजाने तयारीमा रहेका विद्युतीय बस रोकिएको बताए । ‘प्रधानमन्त्री कार्यालयबाट गाडी लुम्बिनीमै चलाउने निर्देशन आएको छ’ सदस्य सचिव श्रेष्ठले भने । श्रेष्ठले थपे, ‘सेतो नम्बर प्लेट हरियोमा परिवर्तन भएका छन्, भाडादर र रुट निर्धारण गरेपछि नियमित सञ्चालन हुन्छ । धेरै समयसम्म नचलेर खुला आकाशमुनि रहँदा ब्याट्री र एसीमा समस्या देखिएको छ ।’

यसअघि गाडी सञ्चालनमा ल्याउन नसक्नुमा लुम्बिनी विकास कोषका पदाधिकारीको चरम लापरबाही र उदासीनतालाई प्रमुख कारण मानिएको छ । विकास कोषले चलाउने कुनै प्रक्रिया र ठोस योजना बनाउन नसकेपछि गाडी अलपत्र परेका हुन् ।

शान्तिभूमि लुम्बिनीलाई उपलब्ध गराएका गाडी चलाउन नसकेर फिर्ता हुने अवस्था आउनुले लुम्बिनी विकास कोषको व्यवस्थापकीय क्षमतामाथि गम्भीर प्रश्न उठेको थियो ।

null

विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत चुडामणि भट्टराईले प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गाडी चलाउने गरी अघि बढेको बताए । ‘चार्जिङ सेन्टर पनि बिग्रिएकाले बनाउन विद्युत कार्यालयलाई निर्देशन दिएका छौं’, भट्टराई भन्छन्, ‘शुरूमा दुईवटा बस चल्छन् । पहिलो लुम्बिनी एयरपोर्ट हुँदै बेलहिया र अर्को लुम्बिनी तिलौराकोट हुँदै कुदानसम्म चल्नेछन् ।’

अन्य तीनवटा गाडी मर्मत सम्भार गरी रामग्राम, देवदह र बुटवलसम्म पनि चल्नेछन् । त्यसका लागि न्यूनतम् भाडा निर्धारण गर्ने तयारी छ । तत्काल विकास कोषले सञ्चालन गरे पनि दीर्घकालीन सञ्चालनको लागि व्यवस्थापनको खाँचो रहेको भट्टराईको भनाइ छ ।

शान्तिभूमि लुम्बिनीमा धुवाँ र ध्वनिबाट हुने प्रदूषण  तथा पर्यटकलाई स्तरीय यातायात सुविधा दिन भन्दै विद्युतीय बस सञ्चालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीदेखि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध मावली देवदह, बुद्धको अस्थीधातु (अस्तु) रहेको नवलपरासीको रामग्राम हुँदै तिलौराकोटसम्मको रुट तय गरिएको छ ।

बसका ठूला–ठूला शिशा फुटेका छन् । टायर पञ्चर हुनुका साथै सीट च्यातिएका छन् भने रंग पनि खुइलिएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई बुद्ध सर्किट सञ्चालन गर्ने गरी अत्याधुनिक सुविधासहितका ५ वटा बस र १४ वटा भ्यान/कार ल्याइएका हुन् । दातृ निकायबाट आएका महत्वपूर्ण साधन आन्तरिक कारण देखाउँदै चलाउन नसक्दा लुम्बिनीप्रति अन्तर्राष्ट्रिय जगतमा समेत नराम्रो सन्देश गएको छ ।

८ वैशाख २०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दाताबाट अनुदानबाट प्राप्त गाडीलाई सेतोबाट हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सेवा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नभएपछि सेतो नम्बर प्लेटका आएका गाडी झण्डै एक वर्षअघि अदालतको परमादेशपछि नम्बर ‘प्लेट’ परिवर्तन भएका थिए ।

null

एडीबीको अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका थिए । एउटा बसको मूल्य २ करोड र भ्यानको ४० लाख रुपैयाँ छ । यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ ।

यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयाँ लगानीमा चार्जिङ स्टेशन समेत बनिसकेका सञ्चालनमा छन् । १७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । पाँच वर्षसम्म ठूला गाडी नचले पनि भ्यान/कार विकास कोषका कर्मचारीले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका थिए । त्यसबेला किनिएका १३० बिजुली रिक्सा कोष आसपासमा सञ्चालनमा छन् ।

बस र भ्यान अत्याधुनिक हुन् । १९ सीट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोका भएको बसमा आनन्ददायी सीट छन् ।

कार्डले स्टार्ट हुने गरी आवाजरहित व्यवस्था छ । एकपटक फूल चार्ज गरे ४०० किलोमिटर गुड्छ । आपतकालीन अवस्थाका लागि ठूल्ठूला ढोका छन् । बस रोक्नका लागि सीटसीटमा बेलबटम छन् । थिच्नासाथ चालक छेउको बत्ती बल्छ ।

८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकैपटक ‘क्विक चार्ज’ गर्न सकिन्छ । क्विक चार्जरबाट फूल चार्ज हुन आधी घण्टा लाग्छ । लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो लगानी गर्दै आएको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाले बस नचल्दा आगामी दिनमा के गर्छ भन्ने प्रश्न खडा भएका छन् । विकास कोषका पर्यटनविद् हरिध्वज राईले अब गाडी द्रूत गतिमा चलाउने गरी जाने बताए । 

 

salt training

कमेन्ट गर्नुहोस्