३० असार २०८३, मंगलबार

ओली र लेखकमाथि १० दिन म्याद थप माग, न्यायाधीश अवस्थीको इजलासमा सुनुवाइ

चैत १९, २०८२
काठमाडौं
ओली र लेखकमाथि १० दिन म्याद थप माग, न्यायाधीश अवस्थीको इजलासमा सुनुवाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको म्याद थपका विषयमा सुनुवाइ शुरू भएको छ ।

दुवै जनाको म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेस गरेपछि बिहीबार पुनः सुनुवाइ भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा सुनुवाइ भइरहेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्माका अनुसार दुवै जनालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन थप १० दिनको म्याद मागिएको छ ।

बिहीबार ओली र लेखकमध्ये कसैलाई पनि अदालत भने लगिएको छैन । दुवै जनालाई भर्चुअल उपस्थित गराइएको सहन्यायाधिवक्ता काफ्लेले बताए ।

लेखकको बयान कार्य बुधबार नै सकिएको छ भने ओलीको बयान भएको छैन ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको थियो । त्यसैका आधारमा अहिलेको सरकारले उनीहरूलाई सरकार बनेकै भोलिपल्ट चैत १४ गते पक्राउ गरेको थियो । 

गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन बमोजिम दुवै जनालाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्नका लागि प्रहरीले हिरासतमा लिएको छ ।

ओलीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने लेखक प्रहरी हिरासतमै छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्