रविले चुनावअघि नै बजेट लेख्न भनेका डा. स्वर्णिम वाग्लेले थाले काम, शुरू भयो बजेट लेखन प्रक्रिया । १९ खर्बको हाराहारीमा आउनेछ अबको बजेट ।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछानेले चुनावअघि नै बजेट लेखनको तयारी थाल्न भनेका थिए । त्यही अनुसार स्वर्णिम अर्थमन्त्री पनि बने ।
रास्वपाको नेतृत्वमा दुईतिहाइ सरकार बनेको स्थितिमा कसरी अगाडि बढ्दैछ त बजेट लेखनको काम ? आउनुहोस्, यस भिडियोमा विस्तृतमा जानौं ।
वास्तवमा बजेट निर्माणको प्रक्रिया मंसिर–पुस महिनाबाटै शुरू हुन्छ । बजेटमा समावेश हुने योजनाहरू तल्लो तहबाट माग गरिन्छ । योजनाहरू राष्ट्रिय योजना आयोगको प्रोजेक्ट बैंकमार्फत प्राथमिकताका आधारमा बजेटमा समावेश हुन्छन् ।
अर्थ मन्त्रालयले बजेट ल्याउनुअघि लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, जसका लागि अर्थ मन्त्रालय दिनरात खट्छ । सबै प्रक्रिया भन्ने हो भने भिडियो धेरै लामो हुन जान्छ । यसलाई छोटकरीमा बुझौं ।
बजेट ल्याउनुअघि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेस गर्नुपर्ने हुन्छ । बजेटका प्राथमिकता र सिद्धान्तमा सांसदहरूले सुझाव दिन्छन् ।
त्यसपछि उक्त सुझावहरूमाथि छलफल हुन्छ र छलफलपछि सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा ल्याउँछ, जसलाई राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने प्रचलन रहेको छ ।
सरकारको नीति तथा कार्यक्रमपछि बजेटको अन्तिम मस्यौदा तयार गरिन्छ । जसमा आयोजनाहरूको स्रोत, संस्थानहरूको प्रगति विवरण, आर्थिक सर्वेक्षण लगायतका थुप्रै विषयहरू हुन्छन् ।
बजेट तयार भएपछि अर्थमन्त्रीले राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदमा ब्रिफिङ गर्छन् र राष्ट्रपतिलाई पनि जानकारी गराइन्छ । त्यसपछि बल्ल जेठ १५ गते अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने गर्दछन् । संसदबाट बहुमतले बजेट पारित गर्नुपर्छ । अनि बल्ल साउन १ गतेदेखि बजेट कार्यान्वयनमा आउँछ ।
अहिले राष्ट्रिय स्रोत अनुमान समितिले अर्थ मन्त्रालयलाई १८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँको बजेट सिलिङ दिएको छ । यही सिलिङकै वरपर रहेर बजेटको मस्यौदा तयार गरिने मन्त्रालयले जनाएको छ । अनुमान लगाउन सकिन्छ कि आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हाराहारीमा आउनेछ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति गठन गरिसकेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी कार्य सम्पन्न गर्न उक्त समिति गठन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।
अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट निर्माणको काम शुरू गरिएको छ ।
बजेट निर्माणको टोलीमा या भनौँ समितिमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
यही समितिले आर्थिक वर्ष ०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने छ ।
यसका साथै कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने, संघीय संसद्का दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने काम गर्नेछ ।
र, आगामी आर्थिक वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गरी पेश गर्नेछ । अर्थमन्त्री वाग्लेले २०८३ जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।
नयाँ अर्थमन्त्री डा. वाग्ले आएसँगै बजेट निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको प्रवक्ता पाण्डेले बताए । उनका अनुसार बजेट निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ ।