
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जवाफ दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी दलका हिसाबले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका हुन् ।
जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने उनको भनाइ छ ।
‘प्रिय सुदन गुरुङज्यू, तपार्इं देशको गृहमन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन । मलाई हर्क दाइ भन्नुहुन्छ । त्यो साइनोले भाइ हो तपाइँ मेरो, मलाई हर्कजी भन्नुहुन्छ । त्यो अर्थमा साथी हो तपाइँ मेरो । तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ माननीय गृहमन्त्रीज्यू हुनुहुन्छ,' उनले फेसबुकमा लेखेका छन्,‘तपाईंले जेन्जी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो, धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरूको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ । धन्यवाद छ । तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होलाः जेन्जी आन्दोलनको भदौ २४ गतेको घटनाको दोषीलाई कारबाही र जीबी राईलाई पक्रेर रबि दाईलाई न्याय दिने ।’
पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिँदा नमज्जा लागेको उनको भनाइ छ । उनले भनेका छन्, ‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै । तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपार्इंको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपार्इंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् । यसपछि मात्रै गृहमन्त्रीलाई बधाई दिनेछु ।’