
राष्ट्रियसभाकी एमाले सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते सिंहदरबार जलाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएकी छन् ।
कुनै पनि सत्ताकाविरुद्ध जनतालाई शान्तिपूर्ण विद्रोहको अधिकार भए पनि भदौ २४ को घटनालाई शान्तिपूर्ण भन्न नसकिने उनले टिप्पणी गरिन् ।
सोमबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा एमाले सांसद झाँक्रीले सिंहदरबार जलाएको घटनाको जवाफ संसद्ले खोज्नु पर्ने बताएकी हुन् ।
‘कुनै पनि लोकतान्त्रिक समाजभित्र शान्तिपूर्ण ढंगले कुनै पनि सत्ताकाविरुद्ध नागरिकलाई विद्रोह गर्ने अधिकार सुनिश्चित हुन्छ । तर भदौ २३ त्यो शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक के विद्रोह थियो ?’ झाँक्रीले प्रश्न गरिन्, ‘त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारे केही प्रतिवेदन आए तर २४ गते सिंहदरबार जलेको घटनाको जिम्मा कसले लिने ? राज्यको विरुद्धमा जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य कसले बनायो ? यसको उत्तर कसले खोज्ने हो ?’
झाँक्रीले संसद्मा आफ्नो कार्यकालभर यो प्रश्न उठाइरहने बताइन् । ‘सिंहदरबार जलाउन हुन्छ, जलाउँदा केही हुन्न भन्ने भाष्य कसले खडा गर्यो ? यसको जवाफ भोलि कुनै दिन सम्मानित सभाले खोज्नु पर्नेछ’, उनले भनिन्, ‘यसको निष्पक्ष छानबिन कहिले हुन्छ, जवाफदेहिता राज्यले कुन तहले कहिले लिन्छ ? पूरै कार्यकलमा जवाफ खोज्न प्रयास गर्नेछु ।’
भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार र संसद् भवन जलेका थिए । एमालेले सो घटनालाई विध्वंश भन्दै आएको छ ।