३१ असार २०८३, बुधबार

युवराजले पाँच विकेट लिएपछि एपीएफसँग स्तब्ध बन्यो सुदूरपश्चिम प्रदेश

चैत २३, २०८२
काठमाडौं
युवराजले पाँच विकेट लिएपछि एपीएफसँग स्तब्ध बन्यो सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटको सोमबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । जनकपुरमा खेलिएको खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हराएको हो ।

जारी प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो हार हो । सात खेल खेलेको सुदूरपश्चिम १० अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । एपीएफ क्लबको भने यो तेस्रो जित हो । सात खेल सकेको एपीएफ क्लब सात अंकसहित छैटौं स्थानमा छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले भने ४६.३ ओभरमा अलआउट हुनुअघि दुई सय १४ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको एपीएफ क्लबका लागि सन्दीप जोराले अर्धशतकीय पाली खेले । उनले ४५ बलमा एक छक्का र नौ चौकाको मद्दतले ५५ रन बनाए । मध्यक्रमका ब्याट्सम्यान लोकेश बलमे पनि ४० बलमा एक छक्का र पाँच चौकाको मद्दतले ४७ रन बनाए ।

ओपनर दीपक बोहराले ६८ बलमा सात चौकाको मद्दतले ४६ रन जोडे । सुमित महर्जनले पनि ५१ बलमा एक छक्का र तीन चौकाको मद्दतले ४१ रन बटुले । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले तीन तथा विकास आग्री र अशोक धामीले दुई–दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि अशोक धामीले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५० रन बनाए ।

ओपनर अभिषेक पालले पनि ९० बलमा एक छक्का र तीन चौकाको मद्दतले ४४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान दीपक बोहराले २४ र मिलन बोहराले २३ रन बटुले । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिम प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफ क्लबका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा ३४ रन खर्चिए । अभिषेक गौतमले पनि दुई विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्