२३ जेठ २०८३, शनिबार
भ्रातृ संस्थाको किचलो

नेविसंघ‚ तरुण दल‚ महिला संघलगायत भातृ संस्थाको नयाँ तदर्थ समिति ल्याउँदै कांग्रेस

चैत २४, २०८२
काठमाडौं
नेविसंघ‚ तरुण दल‚ महिला संघलगायत भातृ संस्थाको नयाँ तदर्थ समिति ल्याउँदै कांग्रेस

नेपाली कांग्रेसले लामो समयदेखि महाधिवेशन गर्न नसकेका भातृ संस्थाको वर्तमान कार्यसमितिलाई खारेज गर्ने तयारी गरेको छ ।

विशेषगरी नेपाल विद्यार्थी संघ‚ नेपाल तरुण दल‚ नेपाल महिला संघ‚ दलित संघजस्ता भातृ संस्थाका वर्तमान कार्यसमिति खारेज गर्ने अन्तिम तयारीमा कांग्रेस पुगेको छ ।

पार्टीको चैत १० र ११ गते बसेको केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको थियो । बैठकले ९ नम्बरमा भ्रातृ संस्था सम्बन्धमा निर्णय गरेको थियो ।

भ्रातृ संस्थाको अवस्था र गतिविधिको अध्ययन गरी निर्णयको प्रस्तावसहित प्रतिवेदन दश दिनभित्र पेश गर्न महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेलाई जिम्मेवारी प्रदान गरेको थियो ।

शेरबहादुर देउवा पार्टी सभापति हुँदा नै भातृ संस्थाको अधिवेशन गर्नका लागि सहजीकरण गर्न पार्टीले निश्चित कार्यदिशासहित निर्देशक समिति बनाएको र अधिकांश भ्रातृ संस्थाले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको अवस्था रहेको पार्टी बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

सोही निर्णयानुसार महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले सबै भातृ संस्थाका अध्यक्ष तथा जिम्मेवार सदस्यहरूसँग संवाद गरेका छन् ।

जिम्मेवारी पाएदेखि नै निरन्तर संवाद गरेका उनीहरू आधा दर्जन भातृ संस्थाहरूका वर्तमान तर्दर्थ कार्यसमितिबाट महाधिवेशन गराउन सम्भव नभएको निष्कर्षमा पुगेका छन् ।

महामन्त्रीहरूसँगै निरन्तर छलफलमा बसेका एक नेताले लोकान्तरलाई दिएको जानकारी अनुसार अलि प्रभावशाली मानिएका भातृ संस्थाका अध्यक्ष तथा अन्य प्रभावशाली सदस्यहरूले अधिवेशन गराउन सक्दिनँ भनेर हात उठाएका छन् ।

भातृ संस्थाका सभापतिहरूले नै  हात उठाएपश्चात् पार्टीले यथास्थिति अधिवेशन गराउन सम्भव नहुने निष्कर्षमा महामन्त्रीद्वयसहित निरन्तर छलफलमा बसेको टोली पुगेको छ ।

‘उहाँहरू(भातृ संस्था प्रमुख)लाई बोलाएर हामीले गहन छलफल विगत केही दिनदेखि गरिरहेका छौं‚’ ती नेताले भने‚ ‘उहाँहरू नै अधिवेशन गराउन सक्दिन भन्नुहुन्छ ।’

नेपाल विद्यार्थी संघ ७५२ सदस्यीय छ । तरुण दलको हालत पनि उस्तै छ । नेपाल महिला संघको विवाद जिल्ला तहसम्मै छरपस्ट छ । पटक–पटक म्याद थप्दै नेपाल दलित संघले पनि अधिवेशन गराउन सकेको छैन ।

कुनै–कुनै भातृ संस्था त स्थापनकालदेखिनै अधिवेशन गराउन असफल देखिए । निरन्तर तदर्थ समितिमा ‘टिका’ लगाएरै नेतृत्वमा पुग्न पल्किएकाहरूले अधिवेशन नगराउँदा भातृ संस्थाहरू भुत्ते भएका छन् ।

नेताहरूले पनि आफ्नो तागत र ‘तुजुक’ देखाउने अस्त्र भातृ संस्थाहरूलाई बनाउँदै आएका छन् । नेता नै पिच्छे गुट र उपगुटको राजनीतिक भातृ संस्थामा मौलाएको छ ।

त्यसैको असर र नतिजा कांग्रेस जस्तो पुरानो दलभित्र युवा तथा विद्यार्थीहरूको आकर्षण घटेको छ । नेविसंघ अब कांग्रेसको नर्सरी संस्था हो भन्न लजाउने स्थिति आइपरेको वर्तमान समितिमै रहेका सदस्यहरू बताउँछन् ।

तरुण दलले आम युवाजमातको नेतृत्व गर्नै सकेको छैन । महिला संघ मात्र होइन, समुदाय र मुद्दा विशेष भातृ संस्थाहरूले पनि कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्नै सकेका छैनन् ।

‘क्रियाशील सदस्य बढी र भोटचाहिँ कम कसरी आउँछभन्दा भातृ संस्थालाई हामीले भुत्ते बनाएर हो‚’ ती नेताले थपे‚ ‘अब वारपार नै हुनेगरी हामी अघि बढेका छौं ।’

गगन थापा नेतृत्वको वर्तमान नेपाली कांग्रेसले भद्दा कार्यसमिति भएको भातृ संस्थाको तर्दथ समितिलाई हटाउने तयारी गरेको उनले बताए । जसमा दुई महामन्त्री सहमत भएर प्रतिवेदन केन्द्रीय समितिमा बुझाउने तयारीमा जुटेका छन् ।

त्यसैले अब छरितो कार्यसमिति बनाउने र अनि मात्र अधिवेशन गर्नेगरी पार्टीले जिम्मेवारी दिने ती नेताले लोकान्तरलाई जानकारी दिए ।

पार्टीले पटक–पटक अवसर दिँदा पनि अधिवेशन गराउन नसक्ने भातृ संस्थाको नेतृत्वलाई विश्वास गर्न नसक्ने निष्कर्ष निकालेको ती नेताले बताए ।

‘अधिवेशन गर्न नसेका भातृ संस्थाको कार्यसमितिले अब काम दिँदैन भन्ने निष्कर्षमा हामी सबै पुगिसकेका छौं‚’ उनले थपे‚ ‘सानो र पार्टी नेतृत्वले विश्वास गर्न सक्ने तदर्थ समिति बनाउँछौं र भातृ संस्थाको अधिवेशन गराउँछौं ।’

पछिल्लोपटक २०७३ सालमा महाधिवेशन गरेका नेविसंघ, तरुण दल र महिला संघ त्यसयता तदर्थ समितिकै भरमा छन् । महाधिवेशन गर्न नसकेपछि २०७८ साउनमा भ्रातृ संस्थाहरू भंग गरिएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले भातृ संस्थाहरू भंग गर्दै तदर्थ समिति बनाएर महाधिवेशन गर्न म्यान्डेट दिएको थियो । तर‚ त्यसयता म्यान्डेट पाएका सबै भातृ संस्थाले महाधिवेशन गर्न सकेकै छैनन् ।

पार्टीभित्रका सबै समूहलाई भागबण्डा मिलाउन भन्दै तर्दथ समितिको संख्या बढाउने र आफू अनुकूल भातृ संस्था चलाउने कार्य रोकिएको छैन । त्यसैको उपज नेविसंघ ७५२, तरुण दल ४०१ सदस्यीय बन्यो । परिस्थिति यतिसम्म लजास्पद बनेको छ कि देशभरबाट सबै भेला भएर केन्द्रीय कार्यसमिति बैठक बस्न सक्ने अवस्था पनि छैन ।

‘लाजमर्दो परिस्थितिको अन्त्य गर्दै पार्टीलाई पुनर्जीवन दिने गरी भातृ संस्थाको पुनर्संरचना र अधिवेशन गर्न जरुरी छ‚’ अर्का एक नेताले भने‚ ‘शेरबहादुर देउवाको विश्वासपात्रहरू अहिले जुन-जुन भातृ संस्थामा छन्, उनीहरूले अधिवेशन गराउँदैनन् । त्यसैले पनि अन्तिमकपटक नयाँ तदर्थ समिति बनाएर अधिवेशन गराउने दिशामा जानुको विकल्प छैन ।’

पछिल्लोपटक कांग्रेसका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ्ग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ‚ मुस्लिम संघ, किसान संघ लगायतले भने अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्