२९ असार २०८३, सोमबार
इरान–अमेरिका युद्धविराम

होर्मुज जलमार्गदेखि आणविक कार्यक्रमसम्म एजेन्डा, इरान-अमेरिकाबीच आगामी दुई साता चुनौतीपूर्ण वार्ता हुने

चैत २५, २०८२
काठमाडौं
होर्मुज जलमार्गदेखि आणविक कार्यक्रमसम्म एजेन्डा, इरान-अमेरिकाबीच आगामी दुई साता चुनौतीपूर्ण वार्ता हुने

धेरै इरानीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की अनुरूप नै पावर प्लान्ट, सडक र पुलहरूमा भारी अमेरिकी बमबारी हुने अनुमान गरिरहेका थिए। उनीहरू त्यो समयसीमाको प्रतीक्षामा थिए, जुन तेहरानको समय अनुसार लगभग रातको ३ बजे थियो।

तेहरानमा युद्धविरामको घोषणा लगभग १ बजे नै भयो, तर धेरै मानिसहरू आक्रमणको डरले अझै जागा थिए। 

विगत केही दिनदेखि मानिसहरूले खाद्यान्न, अन्य उपभोग्य सामग्री र मैनबत्तीहरू किनिरहेका थिए भने पानीको भण्डारण समेत गरिरहेका थिए। युद्धविरामको खबरले उनीहरूलाई केही राहत त मिलेको छ, तर आगामी वार्ता धेरै कठिन हुने बीबीसीको विश्लेषण छ। 

अमेरिका र इरानबीच शुरू हुन लागेको अर्को चरणको वार्तामा विश्वासको ठूलो संकट रहेको बीबीसीको रिपोर्टमा उल्लेख छ।

इरान र अमेरिकाले गत वर्ष दुई पटक वार्ता गरिसकेका छन्। दुवै पटक वार्ताकै बीचमा युद्ध शुरू भएको थियो। 

इरानी सरकारी सञ्चारमाध्यमले आफूलाई जतिसुकै विजयी चित्रण गरे पनि इरानी सेनाले ठूलो धक्का व्यहोर्नुपरेको छ। त्यहाँको अर्थतन्त्र ध्वस्त भएको छ भने शासनको विपक्षी र जनतासँगका कतिपय मुद्दाहरू अझै सुल्झिन बाँकी छन्। 

विगत केही दिनमा सरकारले जनवरीको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका केही व्यक्तिहरूलाई मृत्युदण्ड दिन शुरू गरेको छ।

इरानी शासनले आन्तरिक सत्तामा आफ्नो पकड बलियो बनाउनु पर्ने अवस्था छ। देशको अवस्था नाजुक छ, तर साथसाथै अमेरिकी मागहरू सम्बोधन गर्न पनि इरानलाई कठिन देखिन्छ। 

अमेरिकाले युद्धविराम स्वीकार गर्नुको अर्थ होर्मुज जलमार्गमा यातायातको स्वतन्त्र प्रवाह सुनिश्चित गर्नु हो। इरानले भने आफ्नो भौगोलिक अवस्थितिका कारण होर्मुजको समुद्री यातायातमा आफ्नै नियन्त्रण हुनुपर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको छ।

इरानको आणविक कार्यक्रममा पनि कठिन वार्ता हुने देखिएको छ। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका इरानमा युरेनियम संवर्धन गर्न सहमत भएको दाबी गरेका छन्, जबकि अमेरिका भने इरानले कुनै पनि हालतमा संवर्धन नगरोस् भन्ने चाहन्छ। 

आगामी दुई हप्ता धेरै चुनौतीपूर्ण हुने देखिन्छ। इरानले आफू जोगिनुलाई नै विजय मानिरहेको छ।

इरानी सरकार र त्यहाँका सञ्चारमाध्यमले यसलाई शासनको ठूलो जितका रूपमा प्रस्तुत गरिरहेका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इरानले यस युद्धमा आफ्ना लगभग सबै उद्देश्यहरू पूरा गरेको छ र शत्रुले ऐतिहासिक असफलता बेहोरेको छ।'

यो पनि 

अमेरिका र इरानबीच शुक्रबार पाकिस्तानमा थप वार्ता हुने

 

salt training

कमेन्ट गर्नुहोस्