
इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम घोषणा भए पनि सुरक्षा अन्योलका कारण सामरिक महत्त्वको हर्मुज जलडमरूमा सयौँ व्यावसायिक जहाजहरू अलपत्र परेका छन्।
'मरिन ट्राफिक' को तथ्याङ्कअनुसार ४२६ वटा कच्चा तेलका ट्याङ्करसहित एलपीजी र एलएनजी बोकेका झण्डै ५०० जहाजहरू सो क्षेत्रमा बन्धक बनेका हुन्।
युद्धविराम भए पनि इरानले जलमार्ग बन्द रहने र विना अनुमति प्रवेश गर्ने जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ।
अर्कोतर्फ, उच्च बीमा शुल्क र सुरक्षाको ग्यारेन्टी नहुँदा सिपिङ कम्पनीहरूले आफ्ना जहाजहरू चलाउन सकेका छैनन्।
विश्लेषकहरूका अनुसार यो अवरोधले विश्वमा दैनिक १ करोड ५० लाख ब्यारेलसम्म तेलको आपूर्ति ठप्प पारेको छ, जसले इतिहासकै ठूलो ऊर्जा संकट निम्त्याएको छ। जहाज सञ्चालकहरूले अहिले पर्ख र हेरको रणनीति अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।