
रामहरि कृष्ण मानन्धर स्मृति तेस्रो र्यापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आगामी वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
काठमाडौंको क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्षको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको कूल पुरस्कार राशी तीन लाख रूपैयाँ रहेको छ ।
आयोजक क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले नेपालमा चेस खेलको विकास तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनका अनुसार, प्रतियोगितामा र्यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख रूपैयाँ पुरस्कार राशी छुट्याइएको छ । र्यापिडतर्फको विजेताले ३५ हजार रूपैयाँ पुरस्कार पाउने छ ।
यसैगरी, दोस्रो हुनेले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले आठ हजारसहित अन्य ३४ जना खेलाडीले पुरस्कार पाउने छन् ।
यसैगरी, ब्लिट्जतर्फ पहिलो हुने खेलाडीले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले आठ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ब्लिट्जमा २० खेलाडीले विधागत पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा हुने प्रतियोगिताको विजेतालाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी गराउने जानकारी महासंघका अध्यक्ष हेराकाजी महर्जनले दिए ।
प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारले ब्लिट्जतर्फ तीन मिनेट प्रति चाल दुई सेकेन्ड थप इन्क्रिमेन्ट र र्यापिडतर्फ १५ मिनेट प्रतिचाल १० सेकेन्ड इन्क्रिमेन्ट समय नियन्त्रणमा खेलाइने जानकारी दिए ।