२४ जेठ २०८३, आइतबार
फेरि अड्कियो फाइल

सशस्त्र प्रहरीमा खाली दरबन्दीको ओइरो, कहिले हुन्छ बढुवा ?

चैत २७, २०८२
काठमाडौं

गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलको वृत्ति विकासमा कुनै सम्झौता नहुने र बढुवाको फाइल एक दिन पनि नरोक्ने प्रतिबद्धता जनाए पनि संगठनभित्र बढुवा प्रक्रिया लामो समयदेखि रोकिँदा कर्मचारीमा असन्तोष बढ्दै गएको छ ।

गृहमन्त्री गुरुङले केही समयअघि सशस्त्र प्रहरी मुख्यालय भ्रमणका क्रममा कर्मचारीको मनोबल गिराउने कुनै काम हुन नदिने बताएका थिए । तर, मुख्यालय भ्रमण गरेको १० दिनभन्दा बढी समय बितिसक्दा पनि बढुवा प्रक्रिया अझै अघि बढ्न सकेको छैन ।

सशस्त्र प्रहरीको २०८२ मंसिर २ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदनअनुसार संगठनमा २२९ नयाँ पद सिर्जना गरिएको थियो । तीमध्ये ३ डीआईजी, १ एसएसपी, ६ एसपीसहित विभिन्न तहका पद समावेश थिए । तर, ती पदमा हालसम्म पदपूर्ति हुन सकेको छैन ।

यसबीच २०८२ पुस २४ गते डीआईजी शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि २०८२ फागुन १ गते डीआईजी कुमार न्यौपाने पनि अवकाशमा गए । यससँगै डीआईजीका थप चार पद रिक्त भएका छन् ।

हाल सशस्त्र प्रहरीमा करिब ७ डीआईजी, ९ एसएसपी, २० एसपी, २० डीएसपी, ४० इन्स्पेक्टर, ३५ वरिष्ठ सई, ८० असई र तल्लो तहमा ३५० भन्दा बढी पद पाँच महिनादेखि खाली रहेको बताइएको छ । यति धेरै पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अघि नबढाइँदा कर्मचारीमा निराशा बढेको छ ।

सशस्त्र प्रहरीका कर्मचारीहरूका अनुसार बढुवा केवल पद प्राप्ति मात्र नभई सम्मान, मेहनतको मूल्यांकन र भविष्यको भरोसासँग जोडिएको विषय हो । समयमै बढुवा नहुँदा विशेषगरी जुनियर अधिकृत र तल्लो तहका कर्मचारी बढी प्रभावित भएका छन् ।

संगठनमा रहेको व्यवस्था अनुसार अनिवार्य अवकाशअघि लगातार पाँच वर्ष एउटै पदमा काम गरेका कर्मचारीले घर जानुअघि एक तहको विशेष बढुवा पाउने व्यवस्था छ । तर, बढुवा प्रक्रिया रोकिँदा धेरै कर्मचारी त्यो अवसरबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।

बढुवा ढिलाइका कारण लामो समयदेखि सेवा गरिरहेका अनुभवी कर्मचारी पछि पर्ने र पछि प्रवेश गरेका कर्मचारी भविष्यमा सिनियर बन्ने सम्भावना बढेको भन्दै संगठनभित्र असन्तोष बढ्दै गएको छ । यसले अनुभवभन्दा पहुँच बलियो हुने सन्देश जाने र मेहनतको मूल्य नहुने भावना फैलिएको कर्मचारीहरूको गुनासो छ ।

तल्लो तहमा भने केही बढुवा भएका थिए । २०८२ मंसिर २ गतेको ओएन्डएम प्रक्रियाबाट थप भएका वरिष्ठ हवल्दारदेखि सहायक हवल्दारसम्मका २५० पदमा बढुवा गरिएको थियो । साथै, मंसिर र पुस महिनामा खाली रहेका करिब ४ हजार पदमा पनि बढुवा सम्पन्न गरिएको थियो ।

तर, त्यसपछि पुस महिनापछि रिक्त भएका वरिष्ठ हवल्दारदेखि सहायक हवल्दारसम्मका ५६१ पदमा समेत पाँच महिनादेखि बढुवा प्रक्रिया अघि बढाइएको छैन ।

बढुवा रोकिएको विषयलाई लिएर संगठनभित्र विभिन्न अड्कलबाजीसमेत हुन थालेका छन् । कतिपय कर्मचारीले हालका आईजीपी राजु अर्याल र भावी आईजीपीका रूपमा हेरिएका नारायणदत्त पौडेल तथा वंशीराज दाहालबीचको शक्ति संघर्षका कारण बढुवा प्रक्रिया प्रभावित भएको आशंका व्यक्त गरेका छन् ।

हालका आईजीपी राजु अर्याल वैशाख १८ गते चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदैछन् । त्यसपछि नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले पनि बढुवा प्रक्रियामा प्रभाव पारेको हुन सक्ने कर्मचारीहरूको बुझाइ छ ।

सशस्त्र प्रहरीभित्र बढुवा प्रक्रिया लामो समयसम्म रोकिँदा हजारौं कर्मचारीको वृत्ति विकास, मनोबल र भविष्य प्रभावित भएको भन्दै तत्काल रिक्त पदमा बढुवा प्रक्रिया अघि बढाउनुपर्ने माग उठिरहेको छ ।

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्