
कोटेश्वर बहुमुखी क्याम्पसको ३६औं वार्षिकोत्सव शनिबार विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।
वार्षिकोत्सव कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका पूर्वसदस्यसचिव प्रा. शंकर भण्डारीले आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन पाएका देशभरिका १०६ वटा क्याम्पसमध्ये कोटेश्वर बहुमुखी क्याम्पसले छुट्टै पहिचान बनाएको बताए ।
उनले आगामी दिनमा पनि शिक्षकहरूको स्तरोन्नति र गुणस्तरीय पठनपाठनमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाने र उतै पलायन हुने अवस्था प्रमुख चुनौतीको रूपमा रहेको औंल्याउँदै उनले देशभित्रै अवसर सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको धारणा व्यक्त गरे ।
उनले भने, ‘अध्ययनका लागि विदेश जान रोक्नु हुँदैन । बरु विदेशमा अध्ययन गरेर फर्किएका दक्ष जनशक्तिलाई देशभित्रै रोजगारी प्रदान गर्न सक्नुपर्छ ।’
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष भोलाप्रसाद ढकालले क्याम्पसले गुणस्तरीय शिक्षालाई आफ्नो एकमात्र मूलमन्त्र बनाएर अगाडि बढिरहेको जानकारी गराउँदै भविष्यमा क्याम्पसलाई मानक विश्वविद्यालयमा रूपमा स्थापना गर्ने लक्ष्य रहेको जानकारी गराए ।
क्याम्पस प्रमुख डा. प्रकाश पोखरेलले क्याम्पसले अध्ययनलाई रोजगारसँग जोड्ने प्रयास गरिरहेको बताए । पठनपाठनबाहेक क्याम्पसले अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्त्व दिएको उनले बताए ।
पब्लिक क्याम्पस प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाइका अध्यक्ष सुरेश पोखरेलले क्याम्पसमा ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी गराउँदै कोटेश्वर क्याम्पसलाई सानो नेपालको रूपमा हेर्न सकिने बताए ।
पूर्वक्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस संघका महासचिव गोविन्दबहादुर कार्कीले सबैको संयुक्त मेहनतले मात्र क्याम्पसले उचाइ हासिल गर्ने भएकाले संयुक्त प्रयासमा जोड दिए ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष संजय बुढाथोकीले विद्यार्थीको हक अधिकारको रक्षाका साथै गुणस्तरीय शिक्षामा पनि स्ववियुले काम गरिरहेको बताए ।
कार्यक्रममा एमफिल उपाधि प्राप्त गर्ने उपप्राध्यापकहरू सुरेश पोखरेल, पदमराज जोशी, सुदीप गर्तौला, कृष्णप्रसाद भट्टराई र षडानन्द गुरागाईं तथा पिएचडी उपाधि प्राप्त गर्ने डा. प्रकाश पोखरेल र डा. केशवराज पन्थीलाई सम्मान गरिएको थियो ।
यसैगरी, दीर्घसेवा पदकबाट डा. बालकृष्ण अधिकारी र मदन गौतम, सेवा विवृत सम्मानबाट लेखनाथ घिमिरे र गोविन्द कटुवाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विश्वम्भर भट्टराई छात्रवृत्ति पुरस्कारबाट स्नातक प्रथम वर्षमा अध्ययनरत सोनिका पटेल, विद्यानाथ नेपाल छात्रवृत्तिबाट सीता भण्डारी र रामबाबु नेपाल र सानु नेपाल छात्रवृत्तिबाट एलिशा थापा र जुनु दर्लामी पुरस्कृत भए ।
कलाकार सूर्यमणि आचार्य र कमलीकान्त भेटुवालसहित विद्यार्थीहरूले गीत संगीतका माध्यमबाट कार्यक्रमका सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा खेलकुद सप्ताहका विजेता विद्यार्थीहरूलाई मेडल, पदमसहित पुरस्कार प्रदान गरिएको थियो ।