
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले सर्तहरू स्वीकार नगर्दा २१ घण्टा लामो म्याराथन वार्ता निष्कर्षविहीन बन्न पुगेको बताएका छन् ।
आइतबार बिहान इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भान्सले वार्ताका क्रममा अमेरिका निकै लचीलो र सहयोगी बने पनि इरानले सर्तहरू स्वीकार नगर्दा सहमति हुन नसकेको बताएका हुन् ।
उपराष्ट्रपति भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार आफूहरू सद्भाव र पूर्ण प्रयासका साथ वार्तामा सहभागी भएको दाबी गरे। अमेरिकाले इरानसामु सम्झौताका लागि पर्याप्त लचकता देखाए पनि कुनै ठोस प्रगति हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरे।
भान्सले वार्ता सफल हुन नसक्नुको मुख्य कारण इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न गरेको अस्वीकारोक्ति भएको समेत जिकिर गरे ।
भान्सले अमेरिकाले एउटा सरल प्रस्ताव र समझदारीको खाका इरानसामु छोडेको र त्यो नै वासिङ्टनको तर्फबाट अन्तिम र उत्तम अफर भएको बताए।
उनले अब उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय इरानको हातमा रहेको स्पष्ट पार्दै अमेरिकी टोली स्वदेश फर्कन लागेको जानकारी दिए।