
सामाजिक सञ्जालमा अम्पायरविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर करण केसी एक खेलको प्रतिबन्धमा परेका छन् ।
नेपाल क्रिकेट संघ क्यानले केसीलाई एक खेलमा प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच फी जरिवाना गराउने निर्णय पनि गरेको छ ।
'प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,' क्यान प्रवक्ता छुम्बी लामाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ– 'उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ।'
केसीले अम्पायरलाई कुनै खेलाडीले हात हाल्यो भने के हुन्छ ? भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
केसीले शनिबार साँझ सामाजिक सञ्जालबाटै यस प्रकरणमा माफी मागिसकेका छन् । सुदूरपश्चिमविरुद्धको आइतबारको खेलमा करण केसी सहभागी छैनन् ।