
मध्यपूर्वमा विगत ६ हप्तादेखि जारी द्वन्द्वका कारण इरान र लेबनानमा मात्रै ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको देखिएको छ।
इरानको सरकारी सञ्चारमाध्यम 'इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ'का अनुसार गत फेब्रुअरी महिनादेखि अमेरिका र इजरायलले सुरु गरेको हवाई आक्रमणमा परी इरानमा हालसम्म कम्तीमा ३,३७५ जनाको मृत्यु भइसकेको छ।
यसैगरी, लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मार्च २ देखि सुरु भएको इजरायली आक्रमणमा परी लेबनानमा हालसम्म २,०८९ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा कम्तीमा १६६ जना बालबालिका रहेका छन्।
इजरायलले लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका ठेगानाहरूलाई लक्षित गरी ६ हप्ताअघिदेखि सुरु गरेको सैन्य कारबाही हालसम्म पनि निरन्तर जारी राखेको छ। इरान र अमेरिकाबीच पछिल्लो समय युद्धविरामको प्रयास भए पनि लेबनानमा भने इजरायली आक्रमण रोकिएको छैन।
यो द्वन्द्वको असर इरान र लेबनानमा मात्र सीमित छैन। फेब्रुअरी २८ यता यस क्षेत्रका अन्य मुलुकहरू इराक, इजरायल, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, साउदी अरब र इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि द्वन्द्वका कारण सयौं मानिसको मृत्यु भइसकेको छ।
उद्धारकर्मीहरूले इजरायली बमबारीका कारण ध्वस्त भएका भवनहरूका भग्नावशेषबाट शव निकाल्ने काम जारी राखेका छन्।
टायर जस्ता लेबनानी सहरहरूमा अवस्था निकै भयावह रहेको र एम्बुलेन्सहरूले निरन्तर घाइते तथा मृतकहरूको व्यवस्थापन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।