
काठमाडौं स्पोटर्स एन्ड एभेन्ट्स (प्रालि)ले आयोजना गर्न लागेको ‘कर्पोरेट टि–१० लिग’ क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेटर पृथु बास्कोटालाई सद्भावनादूत नियुक्त गरिएको छ ।
बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक हुन् । मध्यक्रमको भरपर्दा ब्याट्सम्यान बास्कोटाले राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान गरेका छन् ।
बास्कोटाले कर्पोरेट टी–१० लिगको सद्भावनादूत बन्न पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा कर्पोरेट क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
काठमाडौँ स्पोटर्स एन्ड एभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले बास्कोटालाई सद्भावनादूतको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘पृथुजस्ता अनुभवी र प्रेरणादायी खेलाडीको साथले हाम्रो प्रतियोगितालाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं,’ उनले भने ।
कर्पोरेट टी–१० लिग प्रतियोगिता वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमको सहभागिता रहने छ ।