
बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफूले राज्यपालसमक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन् ।
राजीनामा पुष्टि गर्दै मंगलबार उनले सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै, आगामी सरकारलाई सहयोग र आवश्यक मार्गनिर्देशन दिने प्रतिबद्धता पनि जनाएका छन् ।
सन् २००५ नोभेम्बर २४ मा एनडीए सरकार गठन भएपछि राज्यमा कानूनको शासन स्थापित भएको र विकासका काम निरन्तर अघि बढाइएको उनको दाबी छ ।
नितिश कुमार बिहारबाट राज्यसभाका सदस्यमा निर्वाचित भइसकेका छन् र सो पदको शपथ समेत लिइसकेका छन् । उनी पछिल्लो समय भारतीय जनता पार्टी (बीजेपी)को समर्थनमा मुख्यमन्त्री रहेका थिए ।
उनको राजीनामासँगै अब बिहारमा पहिलोपटक बीजेपीको नेतृत्वमा सरकार गठन हुने भएको छ। सम्राट चौधरी बीजेपीको संसदीय दलको नेता चुनिएका छन् । उनी नै मुख्यमन्त्री बन्ने देखिएको छ ।