०८ साउन २०८३, शुक्रबार

जङ्गलमा बसिरहेका किशोर-किशोरीलाई जब सिकारीले बँदेल ठानेर गोली चलाए...

४ जना पक्राउ, २ थान भरुवा बन्दुक बरामद
बैशाख २, २०८३
बुटवल
जङ्गलमा बसिरहेका किशोर-किशोरीलाई जब सिकारीले बँदेल ठानेर गोली चलाए...
तस्वीर : एआई जेनेरेटेड

प्युठानको जंगलमा बसिरहेका किशोर-किशोरीलाई सिकारीले बँदेल ठानेर गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । 

सिकारीले चलाएको गोली लागेर प्युठानको नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको हो ।

उनीहरू घुम्नका लागि गाउँकै सुङगुरवाल चुपाल सामुदायिक वन पुगेका थिए । सुशील र उनकी प्रेमिकासँगै अन्य दुई जना पनि उनीहरूसँगै जंगलमा थिए ।​​

सुशीलसँगै रहेकी १८ वर्षीया किशोरी गम्भीर घाइते भएकी छिन् । उनको बुटवललस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सोही ठाउँका २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना सामुदायिक वनमा सिकार खेल्न पुगेका थिए ।

केसीले टाढैबाट जंगली जनावर बँदेल ठानेर गोली प्रहार गरेका थिए । हतारिँदै जाँदा गोली लागेर परियार र किशोरी घाइते अवस्थामा फेला परेका थिए । 

घाइते परियार र किशोरीको उद्धारपछि जिल्ला अस्पताल, प्युठान लगिएको थियो । जिल्लामा दुवैको उपचार सम्भव नभएपछि बुटवलको लुम्बिनी सिटी हस्पिटल ल्याइएको थियो ।

उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भएको इन्स्पेक्टर भट्टराईले लोकान्तरलाई जानकारी दिए घटना गएको चैत २९ गतेको हो ।

परियारको हत्या आरोपी केसी र उनीसँगै सिकार खेल्न जंगल गएका अन्य तीन जनालाई प्युठान प्रहरीले सोमबार पक्राउ गरेको छ ।

लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्