
प्युठानको जंगलमा बसिरहेका किशोर-किशोरीलाई सिकारीले बँदेल ठानेर गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
सिकारीले चलाएको गोली लागेर प्युठानको नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको हो ।
उनीहरू घुम्नका लागि गाउँकै सुङगुरवाल चुपाल सामुदायिक वन पुगेका थिए । सुशील र उनकी प्रेमिकासँगै अन्य दुई जना पनि उनीहरूसँगै जंगलमा थिए ।
सुशीलसँगै रहेकी १८ वर्षीया किशोरी गम्भीर घाइते भएकी छिन् । उनको बुटवललस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार सोही ठाउँका २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जना सामुदायिक वनमा सिकार खेल्न पुगेका थिए ।
केसीले टाढैबाट जंगली जनावर बँदेल ठानेर गोली प्रहार गरेका थिए । हतारिँदै जाँदा गोली लागेर परियार र किशोरी घाइते अवस्थामा फेला परेका थिए ।
घाइते परियार र किशोरीको उद्धारपछि जिल्ला अस्पताल, प्युठान लगिएको थियो । जिल्लामा दुवैको उपचार सम्भव नभएपछि बुटवलको लुम्बिनी सिटी हस्पिटल ल्याइएको थियो ।
उपचारका क्रममा परियारको चैत ३० गते मृत्यु भएको इन्स्पेक्टर भट्टराईले लोकान्तरलाई जानकारी दिए घटना गएको चैत २९ गतेको हो ।
परियारको हत्या आरोपी केसी र उनीसँगै सिकार खेल्न जंगल गएका अन्य तीन जनालाई प्युठान प्रहरीले सोमबार पक्राउ गरेको छ ।
लुकाएर राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।