
आगामी सिजनको जय ट्रफी क्रिकेट प्रतियोगिता खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल सकिएलगत्तै जय ट्रफी खेल्ने टोलीको टुङ्गो लागेको हो ।
जारी प्रधानमन्त्री कप तालिकामा पहिलोदेखि छैटौं स्थानसम्म आउने टोलीले आगामी सिजनको जय ट्रफी खेल्न पाउने प्रावधान थियो । प्रधानमन्त्री कपमा लिग चरणको समाप्तिपछि तीनवटै विभागीय टोली माथिल्लो ६ स्थानभित्र अटाए ।
तालिकामा त्रिभुवन आर्मी क्लब १७ अंकसहित पहिलो, सुदूरपश्चिम प्रदेश १२ अंकसहित दोस्रो, एपीएफ क्लब ११ अंकसहित तेस्रो, मधेश प्रदेश ११ अंकसहित चौथो, नेपाल पुलिस क्लब नौ अंकसहित पाँचौं र लुम्बिनी प्रदेश नौ अंकसहित छैटौं हुँदै जय ट्रफीमा छनोट भएका हुन् ।
आर्मी क्लब आफूले खेलेको सबै खेल जित्ने एकमात्र टोली बन्यो । नौ अंक नै बटुले पनि गण्डकी प्रदेश भने जय ट्रफीमा छनोट हुन सकेन । गण्डकी प्रदेश समान अंक जोडेका पुलिस क्लब र लुम्बिनी प्रदेशसँग नेट रन रेटमा पछि पर्यो ।
तालिकामा नौ अंकसहित गण्डकी प्रदेश सातौं, आठ अंकसहित बागमती प्रदेश आठौं, तीन अंकसहित कर्णाली प्रदेश नवौं र एक अंकसहित कोशी प्रदेश १० औं स्थानमा रहे । जारी प्रतियोगितामा कोशी प्रदेशले एक खेल पनि जित्न सकेन ।
प्रधानमन्त्री कपको बुधबार खेलिएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई एक विकेटले हरायो । अर्को खेलमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गर्यो ।
जनपुरस्थित रामजानकी रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ३९.२ ओभरमा अलआउट हुनुअघि एक सय ३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले २५.२ ओभरमा नौ विकेट गुमाए एक सय ४१ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
आर्मी क्लबको जितमा कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ३६ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले पनि टोलीको खातामा २८ रन थपे । भीम सार्कीले १८ रन जोडे ।
लुम्बिनी प्रदेशका बलर सन्तोष यादव एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै केवल १७ रन खर्चिए । उनले एकै ओभरमा तीन विकेट लिएका थिए । निर्मल गुरुङले पनि चार विकेट हात पारे । उनले नौ ओभरमा ४० रन खर्चिए ।
त्यसअघि, लुम्बिनी प्रदेशका लागि ओपनर रञ्जित खड्काले २८, कप्तान देव खनालले २३, आकाश त्रिपाठीले २१ र प्रज्ज्वल थापाले १५ रन बनाएका थिए । आर्मी क्लबका बलर कुशल मल्लले चार तथा भीम सार्की र नरेन साउदले दुई–दुई विकेट लिएका थिए ।
यसैगरी, वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४०.३ ओभरमै अलआउट हुनुअघि एक सय ३० रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको मधेश प्रदेशले २४.१ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
मधेश प्रदेशको जितमा अरनिको यादवले महत्त्वपूर्ण योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अविजित ६५ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४४ बलमा ६ छक्का र तीनवटा चौका पनि हिर्काए ।
हिमांशु दत्तले टोलीको खातामा १८ रन थपे । उनले ४३ बलमा दुई चौका प्रहार गरे । आठौं नम्बरमा क्रिज समाल्न आएका रूपेश सिंहले पनि अविजित २७ रन बनाए । उनले २९ बलमा एक छक्का र दुई चौका प्रहार गरे । पुलिस क्लबका बलर गुलसन झाले तीन र सागर ढकालले दुई विकेट लिए ।
त्यसअघि, पुलिस क्लबका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाएका थिए । उनले ४२ बलमा एक छक्का र ६ चौका प्रहार गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शंकर रानाले पनि टोलीको खातामा २७ रन थपे । रासिद खानले १८, गुलसन झाले १५ र दिनेश खरेलले १५ रन बनाए ।
पुलिस क्लबले अतिरिक्त रूपमा पनि १२ रन पायो । मधेश प्रदेशका बलर पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले तीन–तीन विकेट लिए । अर्को एक विकेट अरनिको यादवले लिए ।