०७ साउन २०८३, बिहीबार

भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा

बैशाख २, २०८३
काठमाडौं
भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ ।

लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंकबहादुर कार्की क्वार्टरफाइनलमा पुगेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले । उनले १५ औं सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए । १२ औं होलमा जित हात पारेका भुवनले क्वार्टरफाइनलमा टंकबहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छन् ।

१० औं सिडेड टंकले सातौं सिडेड धनलाई २/० ले हराए । यी दुईबीच कडा प्रतिस्पर्धा चल्दा टंकले १८ औं होलमा जित निकालेका हुन् ।

नेपालका नम्बर एक गल्फर निरजले १६ औं सिडेड सूर्य प्रसाद शर्मालाई ३/२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे । १६ औं होलमा जित निकालेका निरजले क्वार्टरफाइनलमा भेट्रान गल्फर रामे मगरसँग खेल्नेछन् । नवौं सिडेड रामेले आठौं सिडेड भुवन कुमार रोक्कालाई १/० ले हराए ।

यसैगरी, तेस्रो सिडेड दिनेश प्रजापतिले चौधौं सिडेड बलभद्र राईलाई ६/४ ले हराए । दिनेशले क्वार्टरफाइनलमा रवि खड्कासँग खेल्नेछन् । छैटौं सिडेड रविले ११ औं सिडेड दीपक मगरलाई ४/२ ले पराजित गरे ।

चौथो सिडेड सञ्जयले १३ औं वरीयताका रमेश अधिकारीलाई ३/२ ले पराजित गरे । सञ्जयले बिहीबार सेमिफाइनल प्रवेशका लागि जयराम श्रेष्ठसँग खेल्नेछन् । 

जयराम वाक ओभर पाएर अन्तिम आठमा पुगेका हुन् । १२ औं वरीयताका प्रदीप लामा अनुपस्थित भएपछि जयरामले वाई पाएका थिए ।  

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको कूल पुरस्कार राशी चार लाख २५ हजार रूपैयाँ रहेको छ ।

विजेताले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमश ७५ हजार, ५६ हजार र ४२ हजार रूपैयाँ प्राप्त गर्नेछन् । 

क्वार्टरफाइनलमा पुग्ने चार खेलाडीले जनही १८ हजार तथा पहिलो चरणबाट बाहिरिने खेलाडीहरूले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्