०५ साउन २०८३, मंगलबार
रातिमा राहत

काठमाडौंमा चल्न थाले रात्रिबस, तीन महिनापछि नि:शुल्क हुने !

बैशाख २, २०८३
काठमाडौं

नयाँ वर्षको शुरूआतसँगै काठमाडौंमा रात्रिकालीन बस सेवा शुरू भएको छ । 

काठमाडौंका ४ रुटमा अहिले रातिको समयमा साझा यातायातका बस चलिरहेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा रात्रिकालीन बस सेवा शुरू गरिएको हो ।

काठमाडौं महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोल, ललितपुर महानरगरका मेयर चिरिबाबु महर्जन, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले रात्रिकालीन बससेवाको शुरूआत गरे । चारवटै स्थानीय तहका प्रमुखहरू आफैं बसमा चढेर सेवा समेत लिए ।

यात्रुले पनि रातिको समयमा बससेवा लिएपछि सकारात्मक प्रतिक्रिया दिएका छन् । यात्रुहरूले रातिको समयमा बस नपाइने समस्याबाट मुक्ति मिलेको भन्दै रात्रिकालीन बस सेवाका लागि सम्बन्धित निकायलाई धन्यवाद दिए । 

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सार्वजनिक यातायात लाभ लिनका लागि नभएर सेवा दिनका लागि भएको बताए । उनले सार्वाजनिक यातायातलाई नि:शुल्क गराउनुपर्ने समेत बताएका छन् ।

पहिलो तीन महिनासम्म साझा यातायातले सम्पूर्ण खर्चसहित रात्रिकालीन बस वेसा प्रदान गर्ने छ । त्यसपछि भने रातिको सयमा सार्वजनिक यातायात चढ्नका लागि शुल्क लाग्ने छैन । यसका लागि सम्बन्धित स्थानीय तहले आगामी आर्थिक वर्षदेखि बजेट नै छुट्याउने समझदारी गरिएको छ ।

काठमाडौंका ४ रुटमा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म रात्रिबस सञ्चालन भइरहेको छ । बसमा सीसीटिभी क्यामरा जडान गरी सुरक्षाका लागि नगर प्रहरी खटाइएको छ ।

रात्रिकालीन बस विशेषगरी अहिले ४ वटा रुटमा चल्दैछन् । लगनदेखि बूढानीलकण्ठ र बूढानीकलकण्ठदेखि लगनखेलसम्म रात्रिकालीन बस चल्छ । 

यस्तै, थानकोटदेखि त्रिभुवन विमानस्थलसम्म र विमानस्थलबाट थानकोटसम्म‍ पनि प्रत्येक २० मिनेटमा साझा यातायातका बस चलिरहेका छन् । 

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्