
युरोपेली च्याम्पियन्स लिगको एउटा अत्यन्तै रोमाञ्चक र नाटकीय क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । १५ पटकको कीर्तिमानी विजेता रियल म्याड्रिडले खेल अवधिभर तीन पटक अग्रता लिए पनि अन्ततः टोलीले हार बेहोर्नुपर्यो ।
खेलको शुरूवात नै म्याड्रिडका लागि सनसनीपूर्ण रह्यो । म्याड्रिडका टर्किस युवा स्टार अर्दा गुलरले खेल शुरू भएको ३५ सेकेन्डमै बायर्नका अनुभवी गोलकिपर म्यानुएल नोयरको एउटा कमजोर पासको फाइदा उठाउँदै २५ यार्ड टाढाबाट सुन्दर गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, बायर्नले तुरुन्तै प्रतिक्रिया जनायो । खेलको पाँचौँ मिनेटमै अलेक्जेन्डर पाभलोभिचले कर्नरमार्फत प्राप्त बललाई हेड गरेर गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफमै खेलमा थप तीन गोल भए। अर्दा गुलरले फ्री किकमार्फत आफ्नो दोस्रो गोल गर्दै म्याड्रिडलाई पुन: अघि बढाए पनि बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले उत्कृष्ट गोल गर्दै खेल २-२ को स्थितिमा पुर्याए । पहिलो हाफ सकिनुअघि केलियन एमबाप्पेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
दोस्रो हाफमा खेल केही सन्तुलित देखिए पनि अन्तिम समयमा एडुआर्डो कामाभिङ्गाले रातो कार्ड पाएपछि म्याड्रिडको लय बिग्रिएको थियो । ८६ औँ मिनेटमा कामाभिङ्गाले ह्यारी केनलाई लडाएको र त्यसपछि खेल पुनः शुरू गर्न ढिलाइ गरेको भन्दै दोस्रो पहेलो कार्डसहित मैदान छाड्नुपरेको थियो । १० खेलाडीमा सीमित म्याड्रिडमाथि दबाब बढाउँदै बायर्नका लुइस डियाजले ८९ औँ मिनेटमा निर्णायक गोल गरे । इन्जुरी समयमा माइकल ओलिसेले अर्को गोल थपेपछि बायर्नको जित सुनिश्चित भयो । खेल सकिएपछि रेफ्रीसँग विवाद गरेको भन्दै मैदानबाहिर रहेका अर्दा गुलरले पनि रातो कार्ड पाएका थिए, जसले म्याड्रिडको हारलाई अझ पीडादायी बनायो।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले आफ्ना खेलाडीहरूको मानसिक दृढताको प्रशंसा गर्दै अब सेमिफाइनलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको भिडन्तका लागि टोली तयार रहेको बताए।
अर्कोतर्फ, आर्सनलले पनि गोलरहित बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको छ । लन्डनस्थित एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगको १-० को अग्रताका कारण आर्सनल अन्तिम चारमा पुग्न सफल भएको हो ।
आर्सनलको इतिहासमा लगातार दुई पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको यो पहिलो अवसर हो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्ना प्रमुख खेलाडीहरू घाइते हुँदाहुँदै पनि टोलीले देखाएको जुझारुपनको तारिफ गरे । तर, खेलको क्रममा नोनी माडुएके घाइते हुनुले आर्सनललाई आगामी प्रिमियर लिगको महत्वपूर्ण खेलअघि चिन्तित बनाएको छ।
आर्सनलले अब सेमिफाइनलमा एट्लेटिको म्याड्रिडको सामना गर्नेछ भने बायर्न म्युनिखले पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ । रियल म्याड्रिडका प्रशिक्षक अल्भारो आर्बेलोआले रातो कार्डको निर्णयलाई अन्यायपूर्ण भन्दै असन्तुष्टि व्यक्त गरे पनि स्पेनिस टोली यस सिजन उपाधिविहीन हुने निश्चित भएको छ ।