
अमेरिका र इरान युद्ध अन्त्य गर्ने सम्झौताको नजिक पुगेको अमेरिकी मिडिया आउटलेट एक्सियोसले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले उनीहरू अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि सम्झौतामा पुग्ने प्रयास गरिरहेको दाबी गरेको हो । यसैबीच, तस्निमका अनुसार इरानी अधिकारीहरू र पाकिस्तानी सेना प्रमुख असिम मुनिरबीच बिहीबार तेहरानमा महत्त्वपूर्ण वार्ता हुनेछ।
असिम मुनिर बुधबार तेहरान पुगेका छन् र विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरिसकेका छन् । पाकिस्तानी सेनाले पहिले नै स्पष्ट पारेको थियो कि मुनिरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अमेरिकाबाट सन्देश बोकेको थियो ।
अधिकारीहरूका अनुसार, दुई देशहरूबीचको वार्तामा प्रगति भएको छ, तर भिन्नताहरू अझै पनि छन् । पाकिस्तान, इजिप्ट र टर्कीले यस प्रक्रियामा मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन् ।
अमेरिकी उपराष्ट्रपतिहरू जे.डी. भान्स, स्टीव विटकफ र जारेड कुशनर इरान र मध्यस्थता गर्ने देशहरूसँग निरन्तर वार्तामा छन् र मस्यौदा प्रस्तावहरू आदानप्रदान भइरहेको रिपोर्टमा उल्लेख छ ।
अधिकारीहरूका अनुसार युद्धविराम समाप्त हुनुभन्दा अगाडि अर्को प्रत्यक्ष भेटघाट हुन सक्छ । यदि यस अवधिमा रूपरेखा सम्झौता भयो भने सम्झौता सुरक्षित गर्न युद्धविराम लम्ब्याउन सकिने समाचारमा उल्लेख छ, यद्यपि अमेरिकाले औपचारिक रूपमा सहमति जनाएको छैन ।
अमेरिकी अधिकारीहरूले ट्रम्पको नौसेना नाकाबन्दी र हर्मुज जलमार्गमा आर्थिक दबाबले इरानमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताएका छन् । अमेरिकाले नाकाबन्दी लगाइएको ४८ घण्टामा कुनै पनि जहाज इरानी बन्दरगाहमा नपुगेको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार, यस अवधिमा नौ जहाजहरू फिर्ता पठाइएको थियो ।
इरानले दैनिक लगभग १५ लाख ब्यारेल तेल निर्यात गर्छ, जसले लगभग १४ करोड डलर राजस्व उत्पन्न गर्छ, तर नाकाबन्दीले यो राजस्वलाई असर गर्न सक्छ । इरानको खार्ग टापुले यसको तेल निर्यातको लगभग ९० प्रतिशत ओगटेको छ, जुन नाकाबन्दीबाट प्रभावित हुन सक्छ।
इरानको आणविक कार्यक्रमबारे अमेरिकासँगको वार्तामा प्रगति भएको छ। रिपोर्टहरूका अनुसार, हालैका कूटनीतिक प्रयासहरूले दुवै पक्ष सम्झौतातर्फ अघि बढिरहेको संकेत गर्दछ। पाकिस्तानका सेना प्रमुख असिम मुनिरको तेहरान भ्रमण पनि यसै शृङ्खलाको एक हिस्सा हो, जहाँ उनले अमेरिकाबाट सन्देश ल्याएका थिए ।
अमेरिका र इरानबीच ब्याकच्यानल सम्पर्कहरू जारी छन् र मस्यौदा प्रस्तावहरूमा काम भइरहेको छ। रिपोर्टहरूका अनुसार, अमेरिकी आक्रमणपछि इरानको आणविक क्षमताहरू प्रभावित भएका छन्, जसले वार्तालाई तीव्र बनाएको छ।
यद्यपि, सम्झौतातर्फ प्रगति भए पनि दुई पक्षहरू बीचको मतभेद कायमै छ र केही पक्षहरूले यसको विरोध गर्छन् ।

ह्वाइट हाउसले ट्रम्प प्रशासन इरानसँग सम्झौतामा पुग्ने सम्भावनाबारे आशावादी छ। यसले सम्भावित दोस्रो चरणको वार्ता पाकिस्तानमा हुन सक्ने बताएको छ ।३९ दिनको भीषण सैन्य कारबाही र तीव्र कूटनीतिक रस्साकस्सीपछि अमेरिका र इरान अहिले एउटा यस्तो मोडमा आइपुगेका छन्, जहाँ दुवै पक्षका लागि सम्झौतामा हस्ताक्षर गर्नुबाहेक अर्को कुनै व्यावहारिक विकल्प बाँकी देखिएको छैन । युद्ध शुरू भएदेखि नै ओझेलमा परेको सत्य अहिले युद्धविरामको अन्तिम चरणमा आइपुग्दा थप स्पष्ट भएको हो । पाकिस्तानको इस्लामाबादमा भएको म्याराथन वार्ताले दुवै देशलाई एउटा साझा बिन्दुमा ल्याउन खोजेको देखिन्छ, जहाँ युद्धको थकान र राजनीतिक बाध्यता दुवै हाबी छन्।
ह्वाइट हाउसले इरानी बन्दरगाहहरूमा गरेको द्रुत नाकाबन्दी र त्यसबाट सिर्जित आर्थिक संकटले तेहरानको अर्थतन्त्रलाई जर्जर बनाएको छ। इरानी तेलमा निर्भर चीनजस्ता सहयोगी राष्ट्रहरूले समेत यसको असर भोगिरहेका बेला ६० प्रतिशत प्रभावकारिताको नाकाबन्दीले पनि इरानलाई वार्ताको टेबुलमा आउन बाध्य पारेको सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं पनि यो युद्धलाई लम्ब्याउने पक्षमा छैनन् । अमेरिकाभित्रै बढ्दो मुद्रास्फीति, आकाशिएको ग्यासको मूल्य र आफ्नै राजनीतिक आधार क्षेत्रमा देखिएको असन्तुष्टिका कारण ट्रम्पलाई तत्काल एउटा ठोस सम्झौताको आवश्यकता परेको छ । उनको वार्ता शैली कहिलेकाहीँ भ्रमपूर्ण र अस्थिर देखिए पनि यो नै विपक्षीलाई दबाबमा राख्ने उनको पुरानो रणनीतिको हिस्सा भएको विश्लेषण गरिएको छ।
उता इरानको अवस्था झन् गम्भीर देखिएको छ। प्रचारबाजी र साइबर युद्धमा आफूलाई बलियो देखाउन खोजे पनि वास्तविक धरातलमा इरानले ठूलो क्षति बेहोरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका १३ हजारभन्दा बढी रणनीतिक लक्ष्यहरू ध्वस्त भएका छन्, जसले तेहरानको सुरक्षा संयन्त्रलाई क्षतविक्षत बनाएको छ। नेतृत्व तहमा देखिएको अन्योल र इरानी क्रान्तिकारी गार्ड कोर्प्सभित्रको क्षतिले इरानलाई थप सैन्य प्रतिरोध गर्न कठिन बनाएको छ। क्षेत्रीय रूपमा पनि इरान अहिले एक्लिएको छ। छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध बिग्रनु र पाकिस्तानजस्ता मध्यस्थकर्ताहरूले समेत आफ्नो सुरक्षा स्वार्थलाई प्राथमिकता दिनुले तेहरानलाई थप दबाबमा पारेको छ।
वर्तमान वार्तामा दुवै पक्ष हर्मुजको जलडमरू पुनः खोल्ने र आणविक संवर्धनमा रोक लगाउने विषयमा करिब करिब सहमत भइसकेका छन्। विवाद अब सम्झौताको सैद्धान्तिक पक्षमा भन्दा पनि प्राविधिक विवरण र समयसीमामा केन्द्रित छ। इरानले आणविक संवर्धनमा पाँच वर्षको रोक चाहन्छ भने अमेरिकाले यसलाई कम्तीमा २० वर्षसम्म लैजान खोजिरहेको छ। यसैबीच, इजरायलको भूमिका र लेबनानमा हिज्बुल्लाहको उपस्थितिले अझै पनि केही अन्योल कायमै राखेको छ।
तथापि, दुवै राष्ट्रका नेताहरू अहिले यस्तो सम्झौताको खोजीमा छन् जसमा कसैले पनि आफ्नो हार स्वीकार गर्नुपर्ने छैन। ट्रम्पले इरानको आणविक क्षमता ध्वस्त पारेको दाबी गरेर आफ्नो साख जोगाउन खोज्नेछन् भने इरानले आफ्नो अस्तित्व र सैन्य प्रतिरोध कायम राखेको सन्देश दिने प्रयास गर्नेछ।