
सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणलाई तीव्र बनाउने आफ्नो प्राथमिकता दोहोर्याउँदै त्यसका लागि आफू निरन्तर सिकाइ र सुधारको प्रक्रियामा रहेको बताएका छन्।
शुक्रबार पत्रकारहरूसँगको छलफलमा उनले कानून निर्माणमा ढिलाइ हुँदा त्यसको मूल्य नै घट्ने उल्लेख गर्दै छिटो तर जिम्मेवार ढंगले काम अघि बढाउने प्रतिबद्धता जनाए।
'कानून निर्माण जति छिटो गर्न सक्यो, नागरिकले त्यति छिटो प्रतिफल प्राप्त गर्छन्। ढिलाइ गरियो भने त्यसको महत्व नै घट्छ,' उनले भने, 'छिटो गर्नु भनेको गल्ती गर्नु होइन, तर प्रक्रियालाई प्रभावकारी बनाउनु हो।'
सभामुख अर्यालले आफ्नो भूमिका नयाँ भएकाले सिक्नुपर्ने धेरै विषय रहेको स्वीकार गर्दै सबै पक्षबाट रचनात्मक सुझावको अपेक्षा गरे। उनले संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहँदा व्यक्तिकेन्द्रित नभई संस्थाकेन्द्रित सुझाव दिन आग्रह गरे।
'समाज निर्माणमा सबैको उत्तिकै भूमिका हुन्छ। अहिले म गरिमामय संस्थाको नेतृत्वमा छु, त्यसैले सुझाव पनि संस्था केन्द्रित भएर आउनुपर्छ,' उनले भने।
कामका क्रममा कमजोरी हुन सक्ने स्वीकार गर्दै उनले त्यस्ता विषयमा सचेत गराउन सञ्चारमाध्यमलाई आग्रह गरे।
'मबाट गल्ती भए सुझाव दिनुहोस्, म तुरुन्त माफी माग्न तयार छु। तर, त्यसै गल्तीलाई लिएर अनावश्यक नखेल्दिनुहोला । त्यसले अन्ततः संस्थालाई नै घाटा पुर्याउँछ,' उनले भने ।
सभामुख अर्यालले विषय लुकाउन नभई प्रस्तुत गर्दा जिम्मेवारीपूर्वक प्रस्तुत गर्न आग्रह गरे।
उनले सरकार र राज्यप्रतिको नागरिकको अनुभूति सुदृढ बनाउनुपर्नेमा जोड दिए। समाजका सबै वर्गले राज्य आफ्नै हो भन्ने महसुस गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
'हामी चाहन्छौं, चप्पल लगाउने नागरिकले पनि जुत्ता लगाउने अवस्था पुगून्, साइकल चढ्ने गाडी चढ्न सकून्। गिटी कुट्ने मजदुरदेखि विनोद चौधरीजस्ता उद्योगपतिसम्मले ‘यो मेरो सरकार हो’ भन्ने महसुस गरून्,' उनले भने।
साथै, सभामुख अर्यालले नेताहरूको छविमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गरे।
'नेता भनेपछि पेट लागेको, अलि बूढो र जुत्ता छोडेर चप्पल लगाउने भन्ने धारणा बदल्नुपर्छ। त्यसैले मलाई बूढो नबनाइदिनुहोस्,' उनले भने, 'सुझाव दिनुहोस्, म तपाईहरूसँगै रहेर काम गर्छु।'