२८ असार २०८३, आइतबार

रोनाल्डोपछि मेसी पनि बने स्पेनिस क्लबको मालिक​

बैशाख ४, २०८३
काठमाडौं
रोनाल्डोपछि मेसी पनि बने स्पेनिस क्लबको मालिक​
फाइल फोटो

समकालीन विश्व फूटबलको महान खेलाडीमध्येका एक लियोनल मेसीले आफ्नो नयाँ परिचय बनाएका छन् । विश्व फूटबलमा खेलाडीको भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका मेसी फूटबल क्लबको मालिक पनि बनेका छन् ।

३८ वर्षीय मेसी स्पेनको पाँचौँ डिभिजनको क्लब कर्नेलाको मालिक बनेका हुन् । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगको उपाधि चुमाएका मेसीले कर्नेला खरिदको प्रक्रियालाई मूर्तरूप दिएको जनाएका छन् ।

बार्सिलोनालाई १० पटक स्पेनिस ला लिगाको उपाधि जिताएका मेसी अहिले पनि खेलाडीको भूमिकामा सक्रिय छन् र मैदानमा एकपछि अर्को अब्बल प्रदर्शन गर्दै आएका छन् । उनी हाल अमेरिकी क्लब इन्टर मियामीबाट मेजर लिग सकर (एमएलएस) खेल्छन् ।

मेसी कीर्तिमानी रुपमा आठपटकका बालोन डी’ओर विजेता पनि हुन् । उनी अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि चुमाउने टोलीका कप्तान पनि हुन् । उनी केवल १३ वर्षको उमेरमा अर्जेन्टिना छाडेर स्पेन पुगेका थिए ।

फूटबलमा भविष्य बनाउन सानै उमेरदेखि कठोर संघर्ष गरेका मेसीले सन् २००४ को अक्टोबरमा केवल १७ वर्षको उमेरमा बार्सिलोनाका लागि ‘डेब्यू’ गरेका थिए । सिनियर टोलीमा ‘डेब्यू’ गर्नुअघि बार्सिलोनाका लागि उमेर समूहको प्रतियोगितासमेत खेलेका उनले त्यहाँ करिब दुई दशक बिताए ।

त्यसपछि उनी बार्सिलोना छाडेर सन् २०२१ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएका थिए । पीएसजीमा दुई वर्ष बिताएपछि सन् २०२३ मा अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए ।

मेसीभन्दा अघि समकालीन विश्व फूटबलका अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डो पनि फूटबल क्लबको मालिक बनिसकेका छन् । ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले गत फेब्रुअरीमा अर्को स्पेनिस क्लब अल्मेरियाको २५ प्रतिशत शेयर खरिद गरेका थिए ।

मेसी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडमा रहँदा स्पेनिस ला लिगाले विश्वभरका करोडौँ फूटबल समर्थकको ध्यान आफूतर्फ तान्ने गरेको थियो । रियल म्याड्रिडबाट युभेन्ट्स र म्यानचेस्टर युनाइटेड हुँदै रोनाल्डो हाल साउदी व्यावसायिक लिग क्लब अल–नासरमा आबद्ध छन् ।

मेसीले खरिद गरेको क्लब कर्नेलाको एक हजार पाँच सय दर्शक क्षमताको आफ्नै रंगशाला पनि छ । आर्सनलका चर्चित गोलरक्षक डेभिड राया र बार्सिलोना तथा इन्टर मियामीका प्रभावशाली पूर्वडिफेन्डर जोर्डी अल्बाको जरो पनि कर्नेला क्लबसँग जोडिएको छ ।

‘लियो मेसीको आगमनले क्लबको इतिहासमा नयाँ अध्यायको सुरुवात भएको छ । उनको आगमनले क्लबको जग पनि बलियो भएको छ,’ कर्नेलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यो क्लबको स्थापना आजभन्दा ७४ वर्षअघि सन् १९६१ को अप्रिल २९ तारिखमा भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्