
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको शेयर मूल्य अब एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने भएको छ ।
नेप्सेले कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
यसअघि शेयर मूल्य दैनिक १० प्रतिशतसम्म मात्रै तलमाथि हुन सक्ने सीमा कायम थियो ।
नेप्से सञ्चालक समितिले ‘कारोबार सञ्चालन विनियमावली, २०८२’ को चौथो संशोधन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार कारोबार समयअघि वा पछि ग्राहकले टीएमएस प्रणालीमार्फत दिएका आदेशको समय प्राथमिकताका आधारमा राखिनेछन् र बजार खुलेपछि क्रमशः प्रणालीमा प्रविष्ट हुनेछन् ।
अगाडि राखेको अर्डर अगाडि नै प्रविष्ट हुनेछ भने पछाडि राखेको अर्डर पछिल्लो क्रममै देखिनेछ । यस्तै, प्रिओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य तलमाथि राखेर अर्डर राख्न पाइने भएको छ । यसअघि २ प्रतिशतसम्मको सीमा थियो ।
यसका अलावा सर्किट ब्रेकरसम्बन्धी व्यवस्था पनि सच्च्याइएको छ । अब पहिलो २ घण्टाभित्र ५ प्रतिशत वृद्धि वा गिरावट भएमा १५ मिनेटका लागि कारोबार बन्द हुनेछ ।
जुनसुकै समयमा ८ प्रतिशत पुगेमा सो दिनभरका लागि कारोबार बन्द हुनेछ । यसअघि यस्तो सीमा ६ प्रतिशत थियो ।