
नेपाल, जैविक विविधतामा एकता भएको, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न राष्ट्र भएकाले पर्यटन उद्योग, राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधारको रूपमा स्थापित भएको छ ।
भगवान् गौतम बुद्ध र देवी सीताको जन्मस्थल पनि भएकाले नेपाललाई एक पवित्र भूमिको रूपमा मान्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक स्थल पशुपतिनाथ मन्दिर, पोखरामा अवस्थित फेवा ताल, बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल लुम्बिनी, यहाँ भएका ऐतिहासिक कला संस्कृति, नेपालमा रहेका राष्ट्रिय निकुञ्ज, ताल तलैया जस्ता विभिन्न पर्यटकीय गन्तव्य भएकाले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधारको रूपमा स्थापित भएको छ ।
पर्यटन उद्योगले नेपालको कूल राष्ट्रिय आय, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा क्षेत्रीय विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । पर्यटन उद्योगलाई सञ्चालन र व्यवस्थापन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल माउन्टेन एकेडेमी, पर्यटक प्रहरी, पर्यटन समिति लगायत निजी क्षेत्रमा विभिन्न सङ्घ संस्था स्थापना गरिएको छ।
पर्यटन उद्योग र अर्थतन्त्र
पर्यटन भनेको विभिन्न उद्देश्य लिई मनोरञ्जन गर्न, व्यवसाय गर्न, शिक्षा आर्जन गर्न वा धार्मिक उद्देश्य राखी आफ्नो नियमित बास स्थान छोडी केही समयका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने क्रियाकलाप हो । विश्व पर्यटन सङ्गठन (World Tourism Organization)को परिभाषा अनुसार: ‘पर्यटक भन्नाले आफ्नो सामान्य बसोबासको स्थानबाट बाहिर कुनै अन्य स्थानमा कम्तीमा २४ घण्टा वा एक रात भन्दा बढी समयका लागि भ्रमण गर्ने व्यक्ति हो, जसको उद्देश्य मनोरञ्जन, व्यापार, अध्ययन, धार्मिक, स्वास्थ्य वा अन्य गैरआय आर्जन गर्ने गतिविधि हुन सक्छ ।’
र अर्थतन्त्र भन्नाले कुनै पनि देश वा क्षेत्रभित्र उत्पादन, वितरण र उपभोग हुने वस्तु तथा सेवासँग सम्बन्धित सम्पूर्ण आर्थिक गतिविधिको प्रणाली हो । पर्यटन, उद्योग र अर्थतन्त्रबीच गहिरो अन्तर सम्बन्ध रहेको छ । पर्यटन उद्योगले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको हुन्छ ।
पर्यटकहरू विभिन्न उद्देश्यले आफ्नो बसोबास गरेको स्थानभन्दा अन्य स्थानमा केही समयको लागि भ्रमण गर्ने क्रममा विभिन्न सेवा, सुविधा तथा वस्तु प्रयोग गर्ने गर्छन् जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको आर्थिक गतिविधि चलायमान हुन्छ । पर्यटकहरूको सहजीकरण गर्नका लागि देशमा होटल व्यवसाय, ट्रेकिङ गाइड, चालक, ट्राभल एजेन्सी, रेस्टुरेन्ट व्यवसाय, हस्तकला व्यापारी, स्थानीय स्तरमा उत्पादित सामान तथा अन्य सेवा क्षेत्रमा हजारौँ मानिसहरूलाई रोजगार सिर्जना गर्ने हुँदा पर्यटन उद्योगले रोजगारी सिर्जनामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान हुन्छ ।
नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान र सम्भावना
नेपाल प्राकृतिक सौन्दर्यले सम्पन्न देश हो । वि.सं. २००७ सालपछि मात्र नेपाललाई विदेशी पर्यटकका लागि खुला गरिएको हो । त्यसपछि नेपालमा विस्तारै पर्यटन क्षेत्रको विकास र विस्तार हुँदै आएको देखिन्छ । नेपालको पर्यटनको केन्द्रविन्दु विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुपतिनाथ मन्दिर, पोखरामा अवस्थित फेवा ताल, बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, एभरेस्ट बेस क्याम्प ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक हुन् ।
नेपालमा विभिन्न मुलुकबाट सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ र सन् २०२५ मा ११ लाख ५८ हजार ४६९ पर्यटकले भ्रमण गरेका छन् । जसबाट नेपालले सन् २०२४ मा करिब ८२ अर्ब र सन् २०२५ मा करिब ८८ अर्ब विदेशी मुद्रा आर्जन गरेको छ ।
सन् २०२४ मा भन्दा सन् २०२५ मा करिब १२.७० प्रतिशत विदेशी मुद्रा आर्जनमा वृद्धि भएको छ । नेपालको पर्यटन क्षेत्रले मात्र कूल गार्हस्थ्य उत्पादनमा ६.७ प्रतिशत योगदान पुर्याउँदै आएको छ । नेपालमा पर्यटनको अथाह सम्भावना हुँदा हुँदै पनि सोचे अनुरूपको पर्यटक नेपालले भित्र्याउन सकिरहेको छैन ।
नेपालमा भौगोलिक विकटताभित्र नै थुप्रै पर्यटकीय गन्तव्य भएकाले पर्यटकलाई गन्तव्यसम्म पुग्न असहज भइरहेको हुन्छ । नेपालमा रहेका ३ तहका सरकार; संघ, प्रदेश र स्थानीय तहले नेपालको संविधान २०७२ ले प्रदान गरे बमोजिम आ-आफ्नो अधिकारभित्र पर्ने क्षेत्रमा भौतिक संरचनामा विकास र भौगोलिक पूर्वाधारमा विकास गर्न सके थप पर्यटक भित्र्याउन सकिन्छ ।
पर्यटन उद्योग उत्पादन गतिविधिसँग सम्बन्धित उद्योग हो । त्यसैले नेपालको स्थानीय उत्पादनमा पर्यटकलाई आकर्षित गर्न सक्यो भने नेपालको स्थानीय उत्पादनले बजार र नेपालका व्यवसायीले राम्रो आयआर्जन गरी आफ्नो जीवनस्तर तथा देशको आर्थिक विकासमा थप सहयोग पुर्याउन सक्छन् ।
नेपाल विश्वको जलस्रोतको दोस्रो धनी मुलुक भएकाले विभिन्न नदीनाला, ताल तलैया, वनजंगल रहेको छ । नेपालको प्रमुख पेसा कृषि हो, यहाँ विभिन्न मौलिक अन्नबाली उत्पादन गर्छन् तसर्थ जलस्रोत, कृषि र पर्यटनलाई एकापसमा जोड्न सक्यो भने नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ ।
नेपाल कला-संस्कृति, प्राकृतिक सम्पदा, सामाजिक रहनसहन, ऐतिहासिक धरोहर, विभिन्न जात-जाति भेषभूषा तथा धार्मिक सम्पदाले सम्पन्न देश हो । त्यसैले नेपालमा रहेका कला-संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक तथा सामाजिक रहनसहन प्रत्यक्ष रूपमा पर्यटनसँग जोडिने भएकाले नेपालका यिनै कला संस्कृति, प्राकृतिक सम्पदा, धार्मिक र सामाजिक रहनसहनलाई व्यवस्थित र व्यावसायिक गराउन सकेमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ ।
नेपालमा पर्यटन व्यवसायमा राम्रो सम्भावना हुँदाहुँदै पनि झन्झटिलो व्यवसाय दर्ता, कर प्रणाली, फोहोर व्यवस्थापनमा असहज जस्ता पक्षले पर्यटन क्षेत्रमा लगानी गरी व्यवसाय गर्ने व्यवसायी, उद्यमी, रोजगारदाता एकदमै कम रहेको देखिन्छ । नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको लगानी गर्नेलाई प्रोत्साहन गर्ने गरी ३ तहका सरकारबाट सजिलो नीति नियम ल्याउन सकेमा पर्यटन उद्योग फस्टाउने देखिन्छ ।
नेपालमा पर्यटकीय गन्तव्य अथाह हुँदाहुँदै पनि विश्व बजारमा नेपालको पर्यटकीय गन्तव्यबारे जानकारी नहुँदा पनि पर्यटक उल्लेखनीय रूपमा भित्र्याउन सकिरहेको अवस्था छैन । तसर्थ, सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय मिडिया, विभिन्न पपुलर फेस, इन्फ्लुएन्सर, सेलिब्रिटीद्वारा नेपालको पर्यटकीय गन्तव्यलाई विश्व बजारसम्म पुर्याउँदा थप पर्यटक भित्रिन सक्ने सम्भावना रहेको छ ।
नेपालमा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा बढ्दै गइरहेको कमजोर फोहर मैला व्यवस्थापन प्रणालीले आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी विदेशी पर्यटकलाई पर्न गएको असहजताका कारणले गर्दा पर्यटक पुनः त्यस क्षेत्रमा भ्रमणका लागि नआउने र उनीहरूमार्फत् अन्य पर्यटकलाई समेत राम्रो सन्देश नजाने भएकाले नेपालमा पर्यटकको संख्यामा कमी आएको देखिन्छ । तसर्थ, फोहोर मैला व्यवस्थापनमा तीनै तहमा सरकारबाट फोहोर मैला व्यवस्थापन सम्बन्धी नीति र स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम गरी नागरिकलाई सचेत गरी पर्यटकलाई पटक-पटक सोही स्थानमा घुम्न इच्छा लाग्ने वातावरण सिर्जना गर्नुपर्छ ।
दिगो पर्यटन विकास, प्रभावकारी नीति कार्यान्वयन र पूर्वाधार सुधार, निजी क्षेत्रको लगानीमा बढुवा, कृषि र जलस्रोतसँग पर्यटन उद्योग जोड्ने, पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय बजारीकरण, स्थानीय स्तरमा जनचेतनामार्फत् पर्यटन उद्योगले नेपालको आर्थिक समृद्धिमा थप महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।
नेपालमा रहेका पर्यटन सम्बन्धी कानून
नेपालमा पर्यटन उद्योगलाई नियन्त्रण नियमन र सञ्चालन गर्नको लागि मुख्यगरी नेपालको संविधान २०७२ को अनुसूची ५,६,र ८, नेपाल पर्यटन ऐन २०३५, नेपाल पर्यटन बोर्ड ऐन २०५३, नेपाल पर्यटन बोर्ड नियमावली २०५५ लगायत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान आर्थिक प्रशासन नियमावली २०६३, क्यासिनो नियमावली, २०८२, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान कर्मचारी सेवा सर्त नियमावली २०६१, जलयात्रा नियमावली, २०६३, होटल, लज, रेष्टुराँ तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८, प्राचीन स्मारक संरक्षण नियमावली, २०४६, पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका,२०७०, पर्वतारोहण रोयल्टी बाँडफाँड तथा परिचालन निर्देशिका, २०७०, पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७, पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७, पर्यटन नीति रहेका छन् ।
समग्रमा; पूर्वाधारको कमी, राजनीतिक अस्थिरता, वातावरणीय चुनौती, ऐतिहासिक र पर्यटकीय स्थल संरक्षणमा सचेत नहुनु तथा कानून कार्यान्वयनका समस्या, पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न नसक्नु, स्थानीय स्तरमा जनचेतना नहुनु जस्ता पक्षले पर्यटन उद्योगमा प्रभाव पार्दै आएको छ ।
तसर्थ, दिगो पर्यटन विकास, प्रभावकारी नीति कार्यान्वयन र पूर्वाधार सुधार, निजी क्षेत्रको लगानीमा कृषि र जलस्रोतसँग पर्यटन उद्योग जोड्ने, पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय बजारीकरण, स्थानीयस्तरमा जनचेतनामार्फत् पर्यटन उद्योगले नेपालको आर्थिक समृद्धिमा थप महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।
[रोल्पा नगरपालिका-१ रोल्पाका मनिष कानूनका विद्यार्थी हुन् ।]