
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि उनले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।
उनले आफूले राजीनामा दिएको विषय सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
गृहमन्त्री गुरुङ विवादमा तानिएपछि सोमबार बेलुका मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेट भएको थियो । उनीहरूले अगाडि कसरी बढ्ने भनेर सल्लाह गरेका थिए ।
मंगलबार पनि गृहमन्त्री गुरुङले सभापति लामिछानेसँग पनि छलफल गरेका थिए ।
राजीनामा दिनुअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग पनि छलफल गरेका थिए ।
जेनजी आन्दोलनपछि चर्चा आएका गुरुङ गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
उनी गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।
यस्तो छ गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङको वक्तव्य :
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने सत्य, इमानदारी र आत्मशुद्धीको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वीट शेयर छ विस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।