२६ जेठ २०८३, मंगलबार

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी : भानुआतुलाई हराउन नेपालले ९८ रन बनाउनु पर्ने​

बैशाख ११, २०८३
काठमाडौं
आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी : भानुआतुलाई हराउन नेपालले ९८ रन बनाउनु पर्ने​

रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगिताको शुक्रबार जारी खेलमा भानुआतुले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भानुआतुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९७ रन बनाएको हो ।

भानुआतुका लागि ओपनर भ्यालेन्टा लङ्गियातुले ४२ रनको योगदान गरिन् । उनले ५० बलमा दुई छक्का र दुई चौका हिर्काइन् । भानुआतुको पालीमा छक्का प्रहार गर्ने उनी एकमात्र खेलाडी हुन् ।

कप्तान राचेल एन्ड्र्यू भने ६ रन बनाउँदै आउट भइन् । तेस्रो नम्बरकी ब्याटर नसिमाना नभाइकाले पनि टोलीको खातामा १८ रन थपिन् । उनले २६ बलमा दुई चौका हिर्काइन् ।

सेलिना सोलमन १० रनमा आउट भइन् । सुसन स्टेफन पनि १० रन बनाउँदै पेभेलियन फर्किइन् । नेपाली टोलीका बलर रिया शर्माले दुई तथा मनीषा उपाध्याय, कविता कुँवर र रचना कुमारी चौधरीले एक/एक विकेट लिए ।

नेपाल र भानुआतु दुवैले आफ्नो चौथो खेल खेलिरहेका हुन् । नेपाली टोलीले यसअघि खेलिएको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा इटालीलाई ५० रन र तेस्रो खेलमा आयोजक रुवान्डालाई दुई विकेटले हराएको थियो ।

भानुआतु भने यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । प्रतियोगितामा नेपाल, रुवान्डा, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोली सहभागी छन् ।

तीन खेल खेलेको अमेरिका चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेल खेलेको रुवान्डा चार अंकसहित दोस्रो स्थानमा छ ।

यसैगरी, चार अंकसहित नेपाल तेस्रो, तीन खेलबाट चार अंक जोडेको इटाली चौथो र अंक बटुल्न नसकेको भानुआतु पाँचौँ स्थानमा छन् ।

जारी प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई/दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोलीले आफ्नो पाँचौँ खेल अप्रिल २६ मा अमेरिकासँग खेल्नेछ । नेपालले छैटौँ खेल २८ मा रुवान्डासँग, सातौँ खेल ३० मा भानुआतुसँग र आठौँ खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्