०७ साउन २०८३, बिहीबार

आफ्नै बोलीले विवादमा सांसद पोखरेल : सचिवालयले भन्यो- प्रअले माननीयज्यूसँग माफी माग्नुभयो

बैशाख १२, २०८३
काठमाडौं
आफ्नै बोलीले विवादमा सांसद पोखरेल : सचिवालयले भन्यो- प्रअले माननीयज्यूसँग माफी माग्नुभयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले  स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । ओखलढुंगाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रूपमा अथ्र्याउँदै पोखरेलले भनेका छन्, ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ । पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

रास्वपाकै केन्द्रीय सदस्य एवं मोरङ-३ बाट निर्वाचित गणेश कार्कीले ‘भुई नछोड्न’ पोखरेललाई सुझाव दिएका छन् । सांसदलाई ‘माननीय’ भनिएको राम्रो नसुनिने कार्कीको टिप्पणी छ । कार्की सामाजिक सञ्जालमा लेख्छन्,‘यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुईं नछोडौँ न है ।’ रास्वपाकै कार्यकर्ता पनि सांसद पोखरेलले देखाएको व्यवहारप्रति रुष्ट छन् । 

तर, सांसद पोखरेलको सचिवालयले भने घटनाको बचाउ गरेको छ । सचिवालयले भने घटनामा पोखरेल गलत नभएको आशयसहित प्रष्टिकरण दिएहो । 

प्रधानाध्यापकले पोखरेललाई धेरैबेर पर्खाएपछि माफी मागेको सचिवालयले दाबी गरेको छ । 'प्रधानाध्यापक कार्यालयभित्रै भएको अवस्थामा कार्यालय सहयोगीमार्फत् माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियो,' सचिवालयले भनेको, 'माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो । तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो । त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो ।’ 

प्रधानाध्यापक हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै प्राधनाध्यापकले 'माननीयज्यू'सँग माफी मागेको सचिवालयको भनाइ छ । 'त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको हो,' सचिवालयले भनेको छ । घटनाको सम्पूर्ण सन्दर्भ सार्वजनिक नभई एउटा सानो अंश मात्र प्रसारण हुँदा आमजनमानसमा अनावश्यक भ्रम उत्पन्न हुन सचिवालयको तर्क छ । घटनाको पूर्ण भिडियो सार्वजनिक भए वास्तविकता स्वतः स्पष्ट हुने दाबी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्