
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएकी छिन् ।
उनले आइतबार सामाजिक सञ्जालमार्फत् कानूनभन्दा माथि कोही नरहेको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएकी हुन् । 'सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको दुःखद निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। यस असामयिक घटनामा ज्यान गुमाउनु भएका श्रीकृष्ण विकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु,' उनले भनेकी छिन्, 'यस घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ। सत्य तथ्य उजागर गर्न निष्पक्ष र पारदर्शी छानबिनका लागि समिति गठन भइसकेको छ। छानबिनबाट दोषी ठहर हुने जो–कोहीलाई पनि कानूनी दायरामा ल्याइनेछ भन्नेमा म स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछु। कानूनभन्दा माथि कोही छैन।'
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदमहरू अगाडि बढाइने उनले बताएकी छिन् । 'मानव अधिकारको संरक्षण र नागरिक सुरक्षाको सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो । यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदमहरू अगाडि बढाइने छन्,' उनले थप भनेकी छिन् ।
उनले छानबिन प्रक्रियामा सहयोग पुर्याउन सबै सरोकारवाला पक्षलाई आग्रहसमेत गरेकी छिन् । 'यस संवेदनशील समयमा सबैलाई संयमता अपनाउन, अफवाहमा नलाग्न र सत्यमा आधारित जानकारीमा विश्वास गर्न अनुरोध गर्दछु। साथै, छानबिन प्रक्रियामा सहयोग पुर्याउन सबै सरोकारवाला पक्षसँग आग्रह गर्दछु,' उनले भनेकी छिन्, 'न्याय सुनिश्चित गर्नु हाम्रो दायित्व हो र त्यसमा कुनै सम्झौता हुने छैन।'