
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता र सचेतक पनि बदल्ने तयारी गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको कांग्रेस स्रोत बताउँछ ।
कांग्रेस विश्वस्त स्रोतका अनुसार सभापति गगनकुमार थापासहित उनीनिकट नेताहरू सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउनुपर्ने पक्षमा छन् । विशेष महाधिवेशनमा सहयोग नगरेको मात्र होइन, उनले बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सभामा समन्वय गर्न नसक्ने मत उनीहरूको छ ।
साथै‚ उनी विशेष महाधिवेशन पक्षधरको भावनाअनुसार अघि बढ्न नसक्ने र निरन्तर आफूहरूको विरुद्धमा उभिने भएकाले पनि राष्ट्रिय सभाजस्तो महत्त्वपूर्ण ठाउँको जिम्मेवारीबाट मुक्त गरिनुपर्ने आवाज कांग्रेसभित्र उठेको हो ।
लोकान्तरले पार्टी महामन्त्री गुरुराज घिमिरेलाई राष्ट्रिय सभाको नेता परिवर्तन गर्न लागिएको हो ? भन्ने प्रश्न गरेको छ ।
उक्त प्रश्नमा महामन्त्री घिमिरेले यस विषयमा सामान्य कुरा उठेको तर‚ छलफल भने भइनसकेको दाबी गरे । ‘कुरा चाहिँ उठेको छ । तर‚ छलफल अघि बढेको छैन‚’ उनले भने‚ ‘कुरा यतिमात्रै हो ।’
महामन्त्री घिमिरेले त्यतिमात्र प्रतिक्रिया दिए पनि कांग्रेसका अन्य पदाधिकारी भने यस विषयमा केही समय अघिदेखि नै बहस भइरहेको र दलको नेता परिवर्तन गर्ने अन्तिम तयारी हुँदै गरेको दाबी गर्छन् । स्वयं सभापति गगन थापा नै सिटौलाको पक्षमा नभएकाले केही दिनभित्रै यस कामले निचोड पाउने दाबी स्रोतले गर्यो ।
‘प्रतिनिधिसभा दलको नेता सर्वसम्मत चयन गर्दा यस विषय (राष्ट्रिय सभा संसदीय दलको नेता फेर्ने) मा पनि केही सहमति भएको छ‚’ स्रोत भन्छ‚ ‘नाटकीय केही भएन भने कृष्ण दाइको ठाउँमा अरूलाई नै दलको नेताको रूपमा देख्न सक्नु हुनेछ।’
सिटौला २०८० देखि राष्ट्रिय सभा संसदीय दलको नेता भएर काम गरिरहेका छन् । तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले उनलाई २६ फागुन २०८० मा उनलाई दलको नेतामा मनोनीत गरेका थिए ।
त्यसअघिका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेर बिदा भएपश्चात् सिटौलालाई नेता बनाइएको थियो ।
स्रोतका अनुसार सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाउने तयारी भएको छ । पन्त गण्डकीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन् ।
पार्टीको १४औँ महाधिवेशनमा उनी शेखर गगन समूहबाट सहमहामन्त्रीको निर्वाचन लडेकी थिइन् । गएको पुसमा भएको विशेष महाधिवेशनमा गगनलाई साथ दिएकी उनलाई दलको नेता बनाउने तयारी भएको स्रोतको दाबी छ । ‘अहिलेसम्म उहाँकै नाममा चर्चा छ‚’ स्रोतले भन्यो ।
स्रोतको दाबी अनुसार राष्ट्रिय सभामा प्रमुख सचेतक पनि फेरबदल गर्ने तयारी भएको छ । यहाँ पनि वर्तमान संस्थापन समूहले आफूनिकट नेतालाई अघि बढाउने तयारी गरेको छ ।
हाल उक्त पदमा कृष्ण रोकाया रहेका छन् । स्रोतको दाबीअनुसार उनलाई हटाएर गण्डकीबाटै निर्वाचित अर्का सदस्य पदम परियारलाई बनाउने तय भएको छ। ‘पदमजीको नाममा छलफल भएको छ‚’ स्रोतले थप्यो ।
के छ विधानको व्यवस्था?
नेपाली कांग्रेस संसदीय दलको विधानअनुसार राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन गर्ने अधिकार संसदीय दलको नेतालाई छ । सोमबार मात्र दलको नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन् । उनैलाई दलको नेता परिवर्तन गर्ने अधिकार छ ।
संसदीय दलको विधान ११ वैशाखमा बसेको कार्यसम्पादन समिति बैठकले संशोधनसहित पारित गरेको हो । उक्त विधानको दफा १२ मा राष्ट्रिय सभा संसदीय दलको नेता चयनबारे लेखिएको छ ।
उपधारामा १ मा लेखिएको छ‚‘संसदीय दलको नेताले पार्टी सभापतिसँगको परामर्शमा पार्टीका राष्ट्रिय सभाका सदस्यमध्येबाट एक जनालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनीत गर्नेछ।’
यस्तै, सचेतक परिवर्तन गर्नका लागि सर्वप्रथम संसदीय दलको नेता चयन हुनुपर्ने र उनै नेताको चाहनाअनुसार सचेतक चयन हुने उल्लेख छ ।
‘विधानले दलको नेतालाई पार्टी सभापतिसँग समन्वय गरेर राष्ट्रिय सभामा दलको नेता चयन गर्ने अधिकार दिएकै छ‚’ अर्का एक पदाधिकारीले लोकान्तरसँग भने‚ ‘तयारी भइरहेको छ । छिट्टै हामी निर्णयमा पुगिहाल्छौं ।’