०३ असार २०८३, बुधबार
इरानीको जीवनयापन कठिन

युद्धले थलियो इरानी अर्थतन्त्र: ५० प्रतिशत रोजगारी जोखिममा, ५ प्रतिशत गरिब थपिए

बैशाख १५, २०८३
काठमाडौं
युद्धले थलियो इरानी अर्थतन्त्र: ५० प्रतिशत रोजगारी जोखिममा, ५ प्रतिशत गरिब थपिए
Photo : Getty Image via CNN

तेहरानमा बस्ने करिब ३० वर्षकी फ्रिलान्स डिजाइनर असल पहिले नियमित रूपमा विदेशबाट प्रोजेक्ट पाउँथिन् । 

तर, करिब दुई महिनादेखि इन्टरनेट पहुँच अवरुद्ध भएपछि उनको काम पूर्णरूपमा ठप्प भएको छ ।

फोनमार्फत अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनसँग कुरा गर्दै उनले भनिन्, 'न नयाँ प्रोजेक्ट आएका छन्, न त कुनै प्रतिक्रिया । एकै रातमा सबै कुरा रोकिएजस्तो भयो ।'

आर्थिक संकटसँग जुधिरहेकी उनले भावुक बन्दै भनिन्, 'अहिलेको आम्दानीले आधारभूत खर्चसमेत धान्न सक्ने अवस्था छैन ।'

गोपनीयताका कारण उनीसहित यस रिपोर्टमा समावेश अन्य व्यक्तिहरूले आफ्नो पहिलो नाम मात्र प्रयोग गरेका छन् ।

असल ती लाखौं इरानीमध्ये एक हुन्, जसका लागि अमेरिका र इजरायलसँगको द्वन्द्व केवल राजनीतिक विषय होइन, प्रत्यक्ष जीवनसँग जोडिएको पीडा बनेको छ ।

रोजगारी गुम्दै जाँदा धेरै नागरिक गरिबीतर्फ धकेलिँदै छन् ।

द्वन्द्वको असर प्रायः सबै क्षेत्रमा देखिएको छ । रिफाइनरी, कपडा उद्योग, ढुवानी, हवाई सेवा तथा सञ्चार क्षेत्रका कामदारहरू ठूलो संख्यामा बेरोजगार भएका छन् ।

द्वन्द्व शुरू हुनुअघि नै इरानको अर्थतन्त्र कमजोर अवस्थामा थियो । मुद्रास्फीति, भ्रष्टाचार र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण प्रतिव्यक्ति आय २०१२ मा करिब ८ हजार अमेरिकी डलरबाट घटेर २०२४ मा ५ हजार डलरमा झरेको थियो ।

अब अवस्था अझै गम्भीर हुने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का अनुसार द्वन्द्वका कारण थप ४१ लाख मानिस गरिबीतर्फ धकेलिन सक्ने अनुमान छ ।

हजारौं हवाई आक्रमणले व्यापक भौतिक क्षति पुर्‍याएको छ । यूएनडीपीका अनुसार यसले ठूलो मात्रामा जनसंख्या विस्थापन समेत निम्त्याएको छ । स्थानीय मिडिया इकोइरानका अनुसार २३ हजारभन्दा बढी उद्योग तथा कम्पनी प्रभावित भएका छन् ।

इरानका उपश्रम तथा सामाजिक सुरक्षा मन्त्री घोलामहोसेन मोहम्मदीका अनुसार प्रत्यक्ष रूपमा १० लाख रोजगारी गुमेका छन् । थप १० लाख मानिस अप्रत्यक्ष रूपमा बेरोजगार भएको अनुमान गरिएको छ ।

ढुवानी अवरोध र आयातमा आएको समस्याका कारण अर्थतन्त्रमा थप दबाब परेको छ । 

क्विन्सी इन्स्टिच्युटका विश्लेषक हादी काहलजादेहका अनुसार यसले करिब ५० प्रतिशत रोजगारी जोखिममा पारेको छ भने थप ५ प्रतिशत जनसंख्या गरिबीतर्फ धकेलिएको छ ।

बढ्दो बेरोजगारी

युद्ध, महंगी, मन्दी र घट्दो मागका कारण धेरै उद्योगले उत्पादन रोक्न बाध्य भएका छन् । 

मार्च महिनामा वार्षिक मुद्रास्फीति दर ७२ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ, जबकि अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धि अझ बढी छ ।

इजरायली हवाई आक्रमणका कारण ठूला पेट्रो–केमिकल उद्योगहरू प्रभावित हुँदा हजारौं कामदारलाई बेतलबी बिदामा पठाइएको छ ।

इस्पात उद्योगमा पनि असर परेको छ, जसले अन्य उद्योगहरूलाई समेत प्रभावित बनाएको छ ।

इस्पात अभावका कारण ट्रेलर निर्माता मराल सनातले १,५०० कामदार हटाएको छ भने ठूलो कपडा कम्पनी बोरुजेर्दले ७०० कामदारलाई हटाएको छ ।

प्याकेजिङ सामग्री अभावका कारण दुग्ध उद्योगहरू समेत बन्द हुने अवस्थामा पुगेका छन् ।

सेवा क्षेत्रमा पनि संकट

हवाई सेवामा कार्यरत एक वरिष्ठ फ्लाइट एटेन्डेन्ट सोहेलाले भनिन्, 'फेब्रुअरी २८ मा उडानका लागि तयार भइरहेका बेला सबै उडान रद्द भएको खबर आयो । मार्चमा करार सकियो, अब उडान शुरू नभएसम्म तलब पाइँदैन ।'

देशभर बेरोजगारी बिमाका लागि आवेदन दिनेहरूको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दुई महिनामा मात्र १ लाख ४७ हजार आवेदन परेका छन्, जुन गत वर्षभन्दा तीन गुणा बढी हो ।

विशेषगरी असंगठित क्षेत्र तथा कम र मध्यम सीप भएका कामदारहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

इन्टरनेटमा आधारित व्यवसायहरूमा ठूलो असर परेको छ । डाटा विश्लेषक जाफरले आफ्नो कम्पनी बन्द हुँदा ५० भन्दा बढी कर्मचारी बेरोजगार भएको बताए । 

'अब जिविका चलाउन राइड–हेलिङ सेवा अपनाउने सोचमा छु,' उनले भने ।

घरबाट काम गर्ने महिलाहरूका लागि इन्टरनेट अभाव अझ ठूलो चुनौती बनेको छ । एक शिक्षिकाका अनुसार, 'पहिले कक्षाहरू भरिभराउ हुन्थे, तर अहिले प्लेटफर्म नै भरपर्दो छैन ।'

युद्ध शुरू भएयता बेरोजगारी बिमा दाबी गर्नेहरूमध्ये करिब एकतिहाइ महिला छन् ।

सरकारी दबाब र आलोचना

बढ्दो बेरोजगारीले सामाजिक सुरक्षा प्रणालीमा थप दबाब सिर्जना गरेको छ, जबकि सरकारी राजस्व घटिरहेको छ ।

विश्लेषकहरूका अनुसार कर छुट, सहुलियत ऋण तथा साना व्यवसायका लागि विशेष सहायताजस्ता उपाय तत्काल नअपनाइए बेरोजगारी अझ बढ्ने जोखिम छ ।

तेहरान वाणिज्य मण्डलका सदस्य सईद ताजिक भन्छन्, 'सरकारले आफ्ना कर्मचारीको तलब ६० प्रतिशतले बढाउँछ, तर निजी क्षेत्रले तलब दिन नसकेर कर्मचारी हटाइरहेको छ ।'

वाणिज्य मण्डलले रोजगारी जोगाउन सबै पक्षलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको छ ।

सरकारले हालको संकटलाई अमेरिका र इजरायलद्वारा थोपरेको युद्धको परिणाम बताउँदै गरिबका लागि राहत कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।

तर, मुद्रास्फीति, बेरोजगारी र अभावले अवस्था जटिल बन्दै गएको छ । ‘एत्तेलाआत’ पत्रिकाले यसलाई 'गम्भीर र जटिल परिस्थिति' भन्दै विशेष आर्थिक कार्यक्रम आवश्यक पर्ने संकेत गरेको छ ।

युद्धअघि नै महंगी र कठिनाइका कारण देशव्यापी प्रदर्शन भएका थिए, जसलाई कडाइका साथ दमन गरिएको थियो ।

हाल युद्ध अनिश्चित अवस्थामा रहँदा इरानभरि जनजीवन अस्थिर बनेको छ । 

इस्फहानकी भाषा शिक्षिका सोमायेह भन्छिन्, 'आम्दानी घट्नु मात्र होइन, सबैभन्दा ठूलो समस्या अनिश्चितता हो,अब के हुन्छ भन्ने थाहा छैन ।'

salt training

कमेन्ट गर्नुहोस्