
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको भेला धुम्बाराहीमा शुरू भएको छ । होटलमा जारी बैठकमा समूहका शीर्ष नेता, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरू सहभागी छन् ।
भेलामा खड्कासहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, शशांक कोइराला, डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला र सुजाता कोइरालालगायत सहभागी छन् ।
यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिँदै आएको छ ।
खड्काले विशेष महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि खड्काले आफ्नो समूहसँगको छलफललाई निरन्तरता दिँदै आएका छन् ।