
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट संघीयता पुर्नसंरचनाको नाममा प्रदेश खारेजीको षड्यन्त्र गरेको भन्दै गण्डकी प्रदेश सभामा विरोध भएको छ ।
शुक्रवार बसेको प्रदेश सभा बैठकमा नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले संघीयताको पुर्नसंरचनाको शब्दजाल बुनेर प्रदेश खारेजीको षड्यन्त्र भएको आरोप लगाएका हुन् ।
‘रास्वपाको महाधिवेशनमा जुन दस्तावेज पेश भयो, कार्यकर्ताले छलफल गर्न पाइएन भनेका छन्, स्वत: पास भएको दस्तावेजमा गम्भीर कुरा उठाइएको छ,’ चुमानले भने, ‘प्रदेश सभा खारेजीसहित संघीयताको पुर्नसंरचना भनिएको छ ।’
माओवादी आन्दोलनको पृष्ठभूमिका सांसद चुमानले शब्दजाल बुनेर संघीयता खारेज गर्न लागिएको आरोप लगाए । ‘संघीयताको पुर्नसंरचना भन्ने शब्दजाल हो, त्यसमा बेरेर प्रदेश खारेजीको कुरा आएको छ । संघीयताको खारेजीको पहल रूलिङ पार्टीले गरेको छ, त्यसको घोर निन्दा व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
प्रदेश सभाबाट संकल्प प्रस्तावको विषय बनाउन उनले अन्य दलको समेत ध्यानाकर्षण गराए । चितवनमा सम्पन्न रास्वपा महाधिवेशनमा पेश गरिएको राजनीतिक प्रस्तावमा संघीयताको पुनर्संरचना गर्न प्रस्ताव गरिएको छ ।