
शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाको रोल्पा नगरपालिका–१० धाङ्सीका १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने भएको छ ।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको शिवम्ले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले मगरलाई सहयोग गरेको हो ।
सञ्चार माध्यममा आएका समाचारका आधारमा शारीरिक रूपमा अशक्त भई दुवै हात नचल्ने मगरलाई सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
जन्मजात दुवै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन् ।
उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन् ।

तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको थियो ।
शिवम्ले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ।
साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
उक्त व्यवस्थाअन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ।
सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरूप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ।
'समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्य अनुरूप विशेष क्षमता र आवश्यकता भएका बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं । शिक्षा नै सशक्त भविष्यको आधार हो । त्यसैले यस्ता बालबालिकाहरूले पनि प्रोत्साहनसहित गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ,' कम्पनीले भनेको छ ।
सन्देशको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा कम्पनीको छ ।
शिवम् सिमेन्ट्सले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
