
यही वैशाख १८ गते शुक्रबारदेखि काठमाडौंका नदी किनारमा रहेका अनधिकृत एवं जोखिमपूर्ण बस्ती खाली गराइने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनधिकृत तवरबाट वर्षौंदेखि बसोबास भइआएका बस्ती मानवीय रूपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गराइने जनाएको छ ।
र उक्त काम वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानबाट शुरू गरिने बताइएको छ ।
प्रशासनले जोखिमपूर्ण बस्तीमा निर्माण भएका घरटहरा तत्काल खाली भनेको छ । प्रशासनका अनुसार वैशाख १७ गते साँझसम्म पूर्ण रूपमा घर टहरा खाली गरिसक्नुपर्नेछ ।
‘तपाईंको परिवारमा बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला’, सूचनामा भनिएको छ, ‘बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।’
वास्तविक रूपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था मिलाइने उल्लेख छ । वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रूपमा समस्याको समाधान सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

