
हाल देशमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ ।
यसका कारण आज देशभरकै मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गएराति देखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा बाक्लो बादल लागेको थियो भने तराईका क्षेत्रमा समेत सामान्य बदलीको अवस्था रहेको थियो ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको छ। यस्तै, केही स्थानमा हिमपात र एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्को भनाइ छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने देखिन्छ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विशेष गरी नेपालको पूर्वी र मध्य भागमा न्यून चापीय प्रणालीको प्रभाव बढी रहेकाले ती क्षेत्रमा मौसम बढी अस्थिर देखिएको हो।
स्थानीय वायु र पश्चिमी वायुको सक्रियतासँगै स्थानीय स्तरमा वायुको चापमा आएको परिवर्तनले देशभरकै मौसममा प्रभाव पारेको विभागको भनाइ छ।