२९ जेठ २०८३, शुक्रबार

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानून आवश्यक छ- काबा प्रमुख आयुक्त भण्डारी

बैशाख १७, २०८३
काठमाडौं
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानून आवश्यक छ- काबा प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानून ल्याउनुपर्नेमा जोड दिएका छन् । 

निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

आयोगले तीन वर्षअघि विभिन्न सात ऐनलाई विस्थापित गरी एउटै एकीकृत विधेयक तर्जुमा गरेर सरकारलाई पठाएको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले विद्युतीय मतदान (ई–भोटिङ), विदेशमा रहेका नेपालीको मतदान अधिकार र अन्तर–प्रदेश मतदानजस्ता विषयलाई समेट्न कानून अपरिहार्य रहेको बताए ।

वर्तमान ऐन नियम भद्रगोल अवस्थामा रहेको टिप्पणी गर्दै उनले कानून निर्माणमा गम्भीर हुन जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

‘निर्वाचन आयोग कानून मस्यौदा गर्ने निकाय नभए पनि अभ्यासमा देखिएका जटिलता समाधान गर्न हामीले विधेयक तयार गरेका हौं । आगामी बजेट अधिवेशनबाट यो विधेयक पारित नभए आगामी २०८४ सालको निर्वाचन पनि पुरानै ढर्रामा हुनेछ र कुनै सुधार सम्भव हुने छैन’, उनले भने । 

आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उच्च आर्थिक पारदर्शिता र मितव्ययिता अपनाएको दाबी गरेको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले सुनिश्चित गरेको ६ सय ७५ करोड रूपैयाँको बजेटमध्ये करिब एक सय ७५ करोड रूपैयाँ बचत भएको र सो रकम छिट्टै सरकारलाई फिर्ता गरिने जानकारी दिए । 

आयोगले ४७ प्रकारका निर्वाचन सामग्री जिल्ला र स्थानीय तहबाटै खरिद गर्ने गरी अधिकार प्रत्यायोजन  गरेका कारण खर्चमा व्यापक कटौती भएको बताइएको छ । निर्वाचनमा भएको खर्चको पूर्ण विवरणसहित आयोगले छिट्टै श्वेतपत्र जारी गर्ने तयारीसमेत गरेको छ ।

प्रमुख भण्डारीले भने, ‘हामीले केन्द्रबाट सीमित सामग्री मात्र खरिद गर्‍यौं । स्थानीयस्तरमा सरकारी निकायबाटै सामग्री खरिद गरिएकाले कुनै आर्थिक अनियमितता हुने गुञ्जायस रहेन ।’

salt training

कमेन्ट गर्नुहोस्