
भिजन लुम्बिनी लिमिटेडले तिनाउ खोलामा ३.४४ मेगावाटको नम: बुद्ध हाइड्रोपावर बनाउने भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका झुम्सामा बन्ने आयोजनाको ७० करोड लागतमा अनुमान छ । आयोजना १५ महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजनाको लुम्बिनी विकास बैंकसँग सम्झौता गरी स्रोत सुनिश्चितता भइसकेको छ ।
भिजन लुम्बिनीका अध्यक्ष जगतहादुर पोखरेलले सामूहिक लगानी, समृद्धिको आधार भएकाले तिनाउमा जलविद्युत आयोजना निर्माण अघि बढेको बताए ।
आयोजनामा लगानी गर्न पोखरेलले बुटवलबासीलाई आग्रह पनि गरे । ‘यो आयोजना यस क्षेत्रका जनताको हो’, पोखरेलले भने, ‘बुटवलबासीलाई लगानी गर्न यो आयोजना अवसर पनि हो । छिटो सम्पन्न भएर यो आयोजना सञ्चालनमा आउनेछ ।’
हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षको काम सकिएको छ । भिजनले कास्कीमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
भिजनले अहिले १२ वटा ठूलो प्रोजेक्टमा लगानी गरी काम गरिरहेको छ । लिमिटेडका बोर्ड सदस्य राजीव गौतमले महाकाली र कर्णालीमा पनि ठूला हाइड्रोपावर निर्माण गर्न काम अघि बढाउने प्रक्रियामा रहेको बताए ।
साना-साना लगानीकर्तालाई जोडेर भिजन लुम्बिनी कम्पनी स्थापना गरिएको छ । भिजनले अहिले देशका विभिन्न ठाउँमा हाइड्रो, हस्पिटालिटी र आईटी क्षेत्रमा लगानी गरिरहेको छ ।