२३ जेठ २०८३, शनिबार
सुकुम्बासीहरूको अस्थायी आश्रय

होटल र गेस्ट हाउसमा सुकुम्वासीको बास, कस्तो छ अवस्था ? [भिडियो]

बैशाख १८, २०८३
काठमाडौं

गत शनिबार सरकारले काठमाडौंका विभिन्न खोला किनारका सुकुम्बासी बस्तीहरूमा डोजर चलायो । केही घण्टामै वर्षौँदेखि बसोबास गर्दै आएका टहरा र छाप्राहरू खाली भए । बस्ती उजाडिएसँगै एउटा ठूलो प्रश्न उभियो- अब यी परिवार कहाँ गए ?

डोजर चलेपछि धेरैले अनुमान गरे, विस्थापितहरू फेरि खुला आकाशमुनि फर्किए होलान् । तर खोजी गर्दै जाँदा फरक तस्वीर भेटियो । अहिले ती परिवारहरू राजधानीका विभिन्न होटल, गेस्ट हाउस र सामूहिक आश्रयस्थलहरूमा राखिएका छन् ।

सरकारले शुरूमा सबै विस्थापितलाई रंगशालामा जम्मा गरेर नाम दर्ता गर्ने काम गर्‍यो । त्यसपछि उनीहरूलाई बालाजु, नयाँ बसपार्क, सामाखुसी र सुन्दरीघाटस्थित राधा स्वामी भवनलगायत स्थानमा सारिएको छ ।

बालाजु क्षेत्रका होटल व्यवसायी संघहरू अहिले सुकुम्बासीहरूको अस्थायी व्यवस्थापनमा सक्रिय देखिएका छन् । यही क्षेत्रका होटल टोकियो टाउन, टोकियो कञ्चनपुर, तुलसी गेस्ट हाउस, मुस्कान गेस्ट हाउस र नमस्ते ढोरपाटनमा विस्थापित परिवारहरू बसिरहेका छन् ।

नयाँ बसपार्कस्थित ‘होटेल टोकियो टाउन’ पुग्दा त्यहाँको वातावरण सामान्य होटलजस्तो लाग्दैन । त्यो ठाउँलाई अस्थायी शिविरजस्तै बनाएको छ ।

त्यहाँ अहिले ५० भन्दा बढी सुकुम्बासी राखिएका छन् । एउटै कोठामा धेरै सदस्य मिलेर बसिरहेका छन् । कसैको हातमा अझै भत्किएको घरको चिन्ता छ ।

यसै क्षेत्रको अर्को आश्रय बनेको छ ‘मिसन बागलुङ गेस्ट हाउस’ । यहाँ पनि ४५ जनासम्मलाई राखिएको छ । 

विस्थापितहरूका अनुसार अहिले खाना र बस्नका लागि अस्थायी व्यवस्था भए पनि भविष्य अन्योलमै छ । उनीहरूको एउटै प्रश्न छ- 'कहिलेसम्म यसरी होटलमा बस्ने ?' कतिपयलाई डर छ, केही दिनपछि होटल छोड्न भनिए कहाँ जाने ? सरकारले तत्काल राहतस्वरूप बसोबासको व्यवस्था मिलाएको देखिए पनि दीर्घकालीन पुनर्स्थापनाबारे स्पष्ट योजना अझै सुनिएको छैन । 

विस्तृतमा माथिको भिडियोमा हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्