
नेपाल पुलिस क्लबकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङ्गी पौडेल दोस्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले पुलिस क्लबकै सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६ र १३–११ तथा वियंकाले भक्तपुरकी दिया देउलालाई ११–३, ११–९ र ११–९ अंकले हराएका हुन् ।
यसैगरी, इभानाले भक्तपुरकी दीक्षा दाहाललाई ११–२, ११–४ र ११–२ तथा योङ्गीले पुलिस क्लबकी रविना महर्जनलाई ११–६, ७–११ ११–९ र १३–११ को सेटमा पराजित गरे । सेमिफाइनलमा इभानाले योङ्गीसँग र नविताले वियंकासँग प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिले आयोजना गरेको प्रतियोगितामा दुई सय खेलाडी सहभागी छन् । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख रुपैयाँ रहेको छ ।
ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग र स्पिन इभेन्ट्स प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । अफिसियल बल पार्टनरमा यिन्हे डाँफे रहेको छ ।